मंसिर २२, बैतडी । मंसिर २२, बैतडी । बैतडीका दुई सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले देशभरीका ३३ ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकट ग्रस्त क्षेत्र घोषणा भएका छन् ।
डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र पर्शुराम नगरपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
यस्तै, डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् ।
संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनर्निर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।