एक महीनाभित्र पुल सञ्चालनमा ल्याउन भारतका मन्त्रीले दिए निर्देशन, नेपाली उद्योगी उत्साहित

फागुन ४, विराटनगर । एक महीनाभित्रमा मीरगञ्जको पुल सञ्चालनमा ल्याउन भारतका मन्त्रीले निर्देशन दिएका छन् । मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि विगत एक महीनादेखि उठाउँदै आएको मागप्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।  उनले आगामी एक महीनाभित्र सो पुल पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको बताए । नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले उक्त जानकारी गराएका हुन् । भारतस्थित नेपाली राजदूतावासले समेत संघको मागलाई भारतीय पक्ष समक्ष पेश गरेको थियो । भारतीय मन्त्रीको सकारात्मक प्रतिक्रियापछि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले खुशी व्यक्त गरेका छन् । नेपाली उद्योगी/ व्यवसायीहरुले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दुःख भनि सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि नेपाल र भारतका कैयौं निकायहरुको ध्यानाकर्षण गराउँदै आएको छ । विगतमा आएका बाढीहरुका कारण मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा मुलुककै दोस्रो ठूलो नाका विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारी साधनहरुको आवागमन अवरुद्ध हुँदै आएको छ । तत्कालिक रुपमा भीमनगर–भन्टाबारी नाका मार्फत रि–रुट र क्षतिग्रस्त पुलको जीर्णोद्वार लगायतका कार्य गरी सवारी साधनहरुको आवागमन अस्थायी रुपमा सूचारु हुँदै आएको छ । त्यसका साथै संघले त्यसको स्थायी समाधान स्वरुप मीरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायहरुमा जोडदार पहल गर्दै आएको छ । फलतः विगत २ वर्षको छोटो अवधिमै उक्त नयाँ चार लेनको पुलको निर्माण कार्य अन्तिम अवस्थामा आई पुगेको छ ।  यद्यपि जनवरी २०२२ को पहिलो सातामा मीरगञ्ज पुल पुनः क्षतिग्रस्त भई सवारी साधनहरुको आवागमन ठप्प हुन गएकोमा संघका अध्यक्ष रिजालसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरी त्यसको समानान्तरमा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न र तत्कालिक रुपमा सम्भव देखिएको सो पुलको अस्थायी सञ्चालनका लागि माग गर्दै आएको छ ।