काठमाडौं । नेपालमा कुल घरपरिवारमध्ये ९२ दशमलव १७ प्रतिशतले विद्युत्बाट बत्ती बाल्ने गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । सौर्य ऊर्जाबाट बत्ती बाल्नेको हिस्सा ६ दशमलव ५९ प्रतिशत रहेको छ भने मट्टितेल र बायोग्यास प्रयोग गर्नेको संख्या क्रमशः शून्य दशमलव ५८ प्रतिशत र शून्य दशमलव शून्य ३ प्रतिशत रहेको छ । बत्ती बाल्ने स्रोतमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा विद्युत्बाट बत्ती बाल्नेको हिस्सा ९५ दशमलव ६५ प्रतिशत देखिएको छ भने गाउँपालिकामा यो हिस्सा ८५ दशमलव शून्य ४ प्रतिशत रहेको छ । परन्तु सौर्य ऊर्जा प्रयोग गर्नेको हिस्सा भने नगरपालिका र गाउँपालिकामा क्रमशः ३ दशमलव ४४ र १३ दशमलव शून्य ५ प्रतिशत रहेको छ ।
हिमालमा सौर्य ऊर्जाबाट बत्ती बाल्नेको हिस्सा १९ दशमलव ८९ रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमशः १० दशमलव शून्य ७ प्रतिशत र १ दशमलव ८६ प्रतिशत रहेको छ ।
हिमालमा विद्युत्बाट बत्ती बाल्नेको हिस्सा ७८ दशमलव ४५ रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमशः ८८ दशमलव ८७ प्रतिशत र ९६ दशमलव ८० प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा विद्युत्बाट बत्ती बाल्ने घरपरिवारको हिस्सा सबैभन्दा बढी ९७ दशमलव ९० प्रतिशत छ भने कर्णालीमा सबैभन्दा कम हिस्सा ४९ दशमलव ६३ प्रतिशत रहेको छ । सौर्य ऊर्जाको प्रयोगमा भने स्थिति ठीक विपरीत रहेको छ । मधेश प्रदेशमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने घर परिवारको हिस्सा शून्य दशमलव ८२ प्रतिशत रहेको छ भने कर्णालीमा सबैभन्दा बढी ४७ दशमलव ८९ प्रतिशत छ । उक्त तथ्यांकले नेपाल बत्ती बाल्ने दृष्टिकोणबाट पूर्णतया उज्यालो देशको रूपमा रहेको देखिएको छ । यस तथ्यांकले ऊर्जाको सहज र नियमित आपूर्ति भएको खण्डमा आगामी समयमा गार्हस्थ्य उत्पादन, जस्तै– हिटर, राइसकुकर, इण्डक्सन चुल्हो, फ्रिज लगायत विद्युतीय उपकरणको मागमा वृद्धि हुने देखिन्छ । साथै मुलुकमा चिम, बत्तीको मिटर, तार, होल्डर, प्लगसहित बिजुलीको काम गर्ने मेकानिक्सको मागमा पनि ठूलो वृद्धि हुने देखिन्छ ।