काठमाडौं (अस) । एनआईसी एशिया बैंकले सञ्चालन गर्दै आएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापास्थित दमक शाखामा न्यू सुपर चामत्कारिक बचत खाता खोलेका दमक–५ झापाका ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो ।
कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको हो । यो योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ भन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड २० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । बैंकले हाल ३५६ शाखा, ४७१ एटीएम, ७० विस्तारित काउन्टर र ८१ शाखारहित इकाइमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।