दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ । कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।