एउटा सरकार चलाउन नसक्नेहरुले ८ वटा चलाउन खोज्नु मुर्खता मात्रै : केसी

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको ८३ प्रतिशत बजेट तलवभत्तामा खर्च गरेर समृद्धि नआउने बताउनुभएको छ । शनिबार बागलुङको हटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको बजेटमध्ये ८३ प्रतिशत साधारण खर्च भइरहेको जनाउँदै १७ प्रतिशत रकम विकास निर्माणमा लगाएर देश उँभो नलाग्ने बताउनुभयो । एउटा सरकार चलाउन नसक्नेहरुले ८÷८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउदै उहाँले संघीयता नेपाली जनताले थेग्न नसक्ने दोहोर्याउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष केसीले संघीयता खारेजीको वकल्प नभएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री केपी ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक कदम भएको केसीले बताउनु भयो । संविधानका रक्षक राष्ट्रपतिलेसमेत ओलीको असंवैधानिक कदममा साथ दिएको उहाँको आरोप थियो । ‘राष्ट्रपति संविधानको संरक्षक हुन् । राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको छ’ केसीले भन्नुभयो, ‘जनताले स्थायी सरकारका लागि समर्थन दिएका हुन् । जनमत माथि कुठाराघात गर्ने अधिकार ओली सरकारलाई छैन ।’ अध्यक्ष केसीले लिम्पियाधुरा, लिपुलेख कालापानी क्षेत्रको नक्शा पारित गरेपनि विद्यार्थीको पाठ्यक्रम प्रकाशित गर्न रोक्नु भारतलाई खुसी पार्ने काम भएको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार, बलात्कारका घटना बढिरहेको चर्चा गर्दै ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न सशक्त आन्दोलनको उठान गर्नुपर्नेमा जोड दिनु भयो । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जनसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकालले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु लक्षमण पुन, नेत्र बुढाथोकी, तिर्थसिङ थापा, बिष्णु बस्नेत, कृष्णा पुन, पदम श्रेष्ठ, ...