भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरसको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको छ ।
भरतपुर अस्पतालले पीसीआर पोजेटिभ आएका पाँच वटा शंकास्पद नमूनालाई राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला पठाएकोमा दुई वटामा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको हो ।
भरतपुर अस्पतालले सोमबार विज्ञप्ति जारी गरी भरतपुरका दुई जना कोरोना संक्रमितलाई नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको पुष्टि गरेको छ । अस्पतालका कोभिड क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलले भरतपुर अस्पतालबाट पठाइएको नमूनामध्ये दुई वटामा डेल्टा भेरियन्ट प्रमाणित भएको बताउनुभयो ।