झापा । पूर्वी नाका काँकडभिट्टाबाट किवीको बिरुवा भुटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किवीको बिरुवा भुटान निर्यात गरिएको हो ।
भुटानले किवीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देवीन्द्र साहुले बताए । एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार २०० ओटा किवीको बिरुवा भुटान निकासी भएको छ । ‘चालु आवमा पहिलोपटक किवीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो,’ उनले भने ।
किवी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद भएको साहुले बताए । ‘यसबाट किसानमा उत्साह थपिन्छ,’ उनले भने । यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किवीका २०० ओटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्यांक उल्लेख छ । इलाममा एक दशकअघि किवीखेती शुरू गरिएकोमा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ ।
लामो समयदेखि किवीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किवी प्रालिले बंगालादेश र भारतका विभिन्न ठाउँमा किवीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताइन् । पाँच वर्ष अघिदेखि किवीको बिरुवा भुटान निर्यात गर्दै आएको उनको दाबी छ । समुद्री सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किवीखेती हुने गरेको छ । रासस