ज्योति लाइफ इन्स्योरेन्सको १०.५३% लाभांश पारित, अध्यक्षमा पुन : नन्द किशोर दोहोरिए

फागुन ८, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ ।  कम्पनीले शुक्रवार पोखरामा चौथो वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरण योग्य बनाएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब २० करोडको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश वितण गर्ने प्रस्ताव गरेको थियो । २०७७ साल चैत १३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षमै लाभांश वितरण गर्न सफल भएको हो । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरेकाले माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।  सभाले लाभांशसँगै अघिल्लो आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गरेको छ । साथै संस्थापक शेयरधनीहरुबाट चार जना र सर्वसाधारण शेयरधनीहरु दुई जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन समेत सभाले गरेको छ ।  निर्वाचित सञ्चालकहरुमा संस्थापकतर्फबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र सर्वसाधारणतर्फबाट कौशल नौलखा र प्रिया तायल रहेका छन् । नव निर्वाचित सञ्चालकहरुको शुक्रवार नै बसेको बैठकले अध्यक्षमा नन्द किशोर शर्मालाई चयन गरेको जानकारी कम्पनीले दिएको छ ।  यस अघि पनि कम्पनीको अध्यक्षमा शर्मा नै रहेका थिए । २०७४ साल माघ १० गतदेखि अध्यक्षमा नियुक्त भएका शर्माको चार वर्षे कार्यकाल २०७८ साल माघ १० गते सकिएको थियो । शर्माले पुनः कम्पनीको अध्यक्ष पदमा आगामी चार वर्षे कार्यकालको जिम्मेवारी पाएका हुन् ।