सरकारले प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै नेपालभर प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको हो। नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय भएको सूचनामा उल्लेख छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । केहि दिन अघि मन्त्रालयले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको थियो । विभागले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन् अनुरोध गरेको थियो । भाद्र १ गतेबाट यस्ता ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।