युक्रेनी सेनाको कब्जामा रहेका छोराको चिन्तामा गलेकी आमा

विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि उनले आइतबारदेखि आफूलाई सम्हाल्न सकेकी छैनन् । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीकी तिलकुमारी पुनका एक्ला छोरा कमल भनिने प्रतीक गत असार ७ मा १० लाख रुपैयाँ खर्चेर रुस पुगेका थिए । पछि उनी रुसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका थिए ।