कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।
लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।
तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।
‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।
उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।
अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।
थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।
प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।
‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।
केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।
वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस