काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रूपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए ।
‘चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ,’ उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गरिने बताएको छ ।काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन् ।
चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए । चन्द्रागिरिले कोरोना संक्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य राखेको छ । रासस