कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको एक साता भइसकेको छ। प्रदेश सभा सदस्यको पाँचवर्षे पदावधि पनि असोज १ गतेदेखि सकिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वप्रदेश सभा सदस्यहरू यतिबेला गृह जिल्लाका निर्वाचन क्षेत्र दौडाहामा हुनुहुन्छ। कोही भने मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको टिकटका लागि भनसुन गर्न सरकारी सवारीसाधन लिएर सङ्घीय राजधानी काठमाडौँ पुगेका छन्। कानुनविपरीत सार्वजनिक सम्पत्तिको दोहन गरेर पूर्वप्रदेश सभा सदस्यहरूले पार्टीका कार्यक्रम, पारिवारिक भ्रमण तथा निजी काममा सवारीसाधनको प्रयोग गरिरहेको पाइएको छ।