जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

महोत्तरी । उमेरले ७० नाघेका  बर्दिबास–७ मनहरीपुरका विन्देश्वर यादव दिनहुँ तरकारी खेतीमै खटिएका देखिन्छन् । पछिल्लो समय नगद आर्जनमा सहयोगी बनेको उनको तरकारी खेतीले बेलाबेला मौसमी उल्झन बेहोरिरहन्छ । उनको तरकारी बाली कहिले बाढीले बगाएर लैजान्छ । कहिले असिनापानीले सोत्तर पार्छ । पछिल्लो समय उनको तरकारीबालीमा कीराको प्रकोप देखिन थालेको छ । कीराबाट जोगाउन तरकारी बालीमा विषादी छर्कन्छन् । तर, विषादीले पनि काम गर्न छाडेको उनको भनाइ छ । यादवको ७ बिघा जमीन छ । ३ बिघामा तरकारी खेती गर्दै आएका छन् । अहिले उनको तीन बिघा जमीनमा भन्टा, खुर्सानी, लहरे फर्सी, लौका, घिरौंला, करेला, बोडी लगायत तरकारी बाली लगाएका छन् । यसअघि उनको ७ बिघा जमीनमै मुख्य खाद्यान्न बाली फल्दै आएको थियो । खाद्यान्नका लागि मौसम अनुकूल नभएकाले नगद समेत जुटाउने उद्देश्यले करीब एक दशकअघि ३ बिघामा नगदेबाली सुर्ती र उखुको खेती पनि गरे । तर, सोचेजस्तो प्रतिफल नगदेबालीबाट पनि नपाएको उनी बताउँछन् । ‘धान गहुँ, मकै लगायतका अन्नबाली हुँदै नगदेबाली सुर्ती उखुखेती पनि भोगिसकेर अहिले तरकारी बालीमा हात हालेको छु,’ उनले भने । तर, अहिले तरकारी बालीमा कीराको अत्यधिक प्रकोप देखिए पनि दिक्क लागेको उनको भनाइ छ । सोही ठाउँका स्थानीय उनी विगत १५/२० वर्षयता तरकारी लगायत कृषिबालीमा दुःख भोग्नुपरेको बताउँछन् । विगतमा अहिलेको जस्तो रोग नलाग्ने र बाढी तथा असिनापानीले पनि त्यति धेरै प्रभाव नपार्ने उनको भनाइ छ । उनको जस्तै अनुभव भंगाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादवको पनि छ । मौसमले साथ नदिँदा वर्षेनि खेती बदल्नुपरेको उनी बताउँछन् । उनले पनि मुख्य खाद्यान्न बाली, नगदेबाली हुँदै पछिल्लो समय तरकारी खेतीमा चित्त बुझाउनुपरेको छ । तर तरकारी बालीमा कीराको अत्यधिक प्रकोपले सोचेजस्तो प्रतिफल नपाइएको उनको भनाइ छ । रासस