जनताको मन जित्दै झापा गाउँपालिका

झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै काम भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् । तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उहाँले जनताको आवश्यकताअनुसार गरेको बताउनुभयो । पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उहाँले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।”