थोरै लगानीमा चाँडो सहज रुपमा निर्माण गर्न सकिने भएपछि झापामा झोलुङ्गे पुलको आर्कषण बढ्दै गएको छ । पछिल्लो समय दुर्गम क्षेत्रलाई सुगम बनाउन प्रभावकारी बन्दै छन्, झोलुङ्गे पुल । हालसम्म जिल्लाका विभिन्न नदीमा गरी कुल २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । सो सँगै १२ वटा निर्माणाधीन अवस्थामा रहेका गरी जम्मा ३७ वटा पुल निर्माण प्रकृयामा रहेका छन् ।
जिल्लामा संघीय सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ३० वटा पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश सरकारमार्फत् ७ वटा पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठका अनुसार जिल्लामा २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । यो आर्थिक वर्षभित्रमा नै बाँकी पुलको निर्माण कार्यसमेत सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । जिल्लामा ३७ वटा पुलको कुल १९ करोड ८७ लाख रुपैयाँ बजेट लागत रहेको जनाइएको छ ।