पुस १, टोकियो (जापान) । जापानको पूर्वाधार मन्त्रालयले कयौं वर्षसम्म निर्माण कार्यसम्बन्धी तथ्यांकहरु अनुचित तवरले हेरफेर गरेको खुलासा भएको छ ।
बुधवार मन्त्रालयका अधिकारीहरुले बताएको भन्दै जिजी प्रेसले समाचार छापेको छ । समाचार अनुसार निजी र सरकारी क्षेत्रका कम्पनीहरुबाट भएका घरेलु निर्माण कार्य परियोजनाको मासिक अर्डर सन् २०१३ यताका कयौं वर्षसम्म बढाइचढाई गरिएको छ । यो अर्डरलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को गणना गर्दा प्रयोग गरिन्छ ।
मन्त्रालयले मासिक रुपमा करीब १२ हजार कम्पनीहरुमाझ सर्वेक्षण गरी निर्माण अर्डर निकाल्ने गरेको छ । निर्माण तथ्यांकमा भएको यस हेरफेरले तथ्यांक कानूनको उल्लंघन भएको हुन सक्ने अनुमान गरिएको छ ।
तथ्यांकमा हेरफेर कसरी शुरु भयो र यसले अन्य तथ्यांकलाई प्रभाव पारेको छ कि छैन भनेर पूर्वाधार मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
तथ्यांक हेरफेर भएको कुराको पूर्वाधार मन्त्री तोसुओ साइतोले पनि स्वीकार गरेका छन् । उनले सोही दिन संसदको तल्लो सदनमा बजेट समितिको बैठकमा माफी पनि मागेका थिए । एजेन्सी