हालसम्म समुद्री सतहबाट नाप्दा र अहिलेसम्म विश्वले दिएको मान्यताअनुसार विश्वको सबैभन्दा अग्लो पर्वत सगरमाथा नै हो भन्नेमा कसैको विमति रहेन, पहिले पनि थिएन । तथापि पनि कति अग्लो ? भन्नेमा चाहिँ विदेशी (खास गरी अमेरिका र केही पश्चिमा देशहरू) ले विवाद झिकिरहन्थे । पछिल्लोपटक विसं २०७७ मङ्सिर २३ तदनुसार सन् २०२० डिसेम्बर ८ का दिन नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा यो हिमालकोे नयाँ उचाइ ८ हजार ८४८ दशमलव ८६ मीटर घोषणा गरे ।
त्यसअघि सगरमाथाको आधिकारिक उचाइमा एकरूपता थिएन । नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८४८ मीटर मान्ने गरेको थियो भने चीनले ८ हजार ८ सय ४४.४३ सेन्टी मीटरलाई आधिकारिक मान्ने गरेको थियो । त्यसैले नेपाल तर्फबाट सफलतापूर्वक सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले ८ हजार ८४८ मीटर भनी आरोहण प्रमाणपत्र पाउँथे भने चीन तर्फबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूले चाहिँ ८ हजार ८४४.४३ सेन्टी मीटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।
कताकति विश्वको सबैभन्दा अग्लो पर्वत वा भनौं हिम शिखर सगरमाथाको आधिकारिक नाम अब चोमोलुङमा हुनुपर्छ भन्ने माग पनि सुनिन्छ । यो माग धेरै नै सानो र मसिनो गरी सुनिने गरेको छ । किनभने नेपालका मूलधारका मिडिया र बुद्धिजीवीहरूले सगरमाथाको नयाँ नाम ‘चोमोलुङमा’ हुनुपर्छ भन्ने माग सुन्नेबित्तिकै यो त भोटे नाम (तिब्बती) होइन र ? भनी प्रश्न गर्ने गरेका छन् । सगरमाथाको नयाँ नाम चोमोलुङमा हुनुपर्छ भन्नेबित्तिकै जातीय नामको गन्ध आउने भन्ने भनाइ पनि कताकति सुन्ने गरिएको छ ।
यो हिम शिखरको फेदी (दक्षिणी पाटोका वरिपरि) मा अनादि कालदेखि रहँदै, बस्दै आएका आदिवासी जनजातिहरूले बोलाउँदै र पुकार्दै आएको असली र पुरानो नाम ‘चोमोलुङमा’ नै हो । इतिहास जेजस्तो भए तापनि आजभोलि चोमोलुङमालाई सगरमाथा र एभरेस्ट नामले बढी चिनिन्छ । यो यथार्थ हामीले स्वीकार गर्नैपर्छ ।
फेरि एकपटक सगरमाथाको उचाइकै कुरो गरौं । अमेरिका, इटली आदि देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मीटर रहेको भन्दै आएका थिए । खास सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) देश नेपाल र चीनले तेस्रो पक्षले घरिघरि सगरमाथाको उचाइ बढेको भन्ने भनाइलाई मान्यता दिएको थिएन, वास्ता गरेको थिएन ।
सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथा आरोहणबाट हुने कमाइबारे पनि चर्चा गरौं । सन् २०२१ को वसन्त याममा मात्रै नेपाल सरकारले रोयल्टीबापत ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा कमाइ गरेको थियो । त्यस्तै हवाई जहाज कम्पनी, हेलिकोप्टर कम्पनी, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, सरदार, ट्रेकिङ शप, सरदार, कुक, क्लाइम्बिङ गाइड, हाई एल्टिच्युड शेर्पा, आइसफल डाक्टर, किचन ब्वाई, भरिया, जोप्को, याक र नाक (पोथी याक) धनी, होटेल सञ्चालकहरू, किसानलगायतले प्राप्त गरेको तलब–भत्ता र आय आर्जनको छुट्टै पाटो रहने गरेको छ ।
सन् २०२१ मा विश्वकै अग्लो हिम शिखर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूबाट नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरूले धेरै राम्रो आम्दानी गर्न सफल भएका थिए । स्मरणीय छ, उक्त वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ ओटा आरोहण दलका ४०८ जना पर्वतारोही नेपाल आएका थिए ।
उक्त वर्ष आएका ४०८ जना पर्वतारोही मध्ये एक जना तेस्रो लिंगी, ९२ जना महिला र ३१५ जना पुरुष रहेका थिए । यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विभिन्न देशका ४२ ओटा आरोहण दलका ४६६ जना पर्वतारोहीले ७३ करोड ७४ लाख नेपाली रुपैयाँ सलामीबापत मात्रै तिरेका छन् । शुरूमै भनिएझै यो सिजनमा लगभग ५ सय जना पर्वतारोहीले सगरमाथा आरोहणका लागि अनुमति लिने अनुमान पर्यटन विभागले गरेको छ ।
त्यसो त हजारौं लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा जसरी भए पनि ‘एकपटक विश्वको अग्लो हिम शिखर सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन् । त्यसका लागि पर्वतारोहीहरूले कयौं दिनसम्म सगरमाथा हिमालको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बस्नुपर्ने हुन्छ । नेपाली हिमालबाट समग्रमा हुने आर्थिक उपार्जनको तुलनामा सगरमाथा हिमाल एक्लैको कमाइको जुन परिणाम देखिन्छ, यसले सगरमाथा हिमालको अर्थ राजनीतिक महत्त्व बढेर गएको देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।