काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सीएसआरअन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि काठमाडौं महानगर–२६ लाई उक्त मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि लागि खुला गरिएको छ ।
यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।
स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ । मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् ।
वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीको छ । मैदानको स्तरोन्नति तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगर–२६ बीच गत वर्ष सम्झौता भएको थियो । ‘जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा कम्पनीले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
काठमाडौं महानगर–२६ का वडाध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले उत्साहित भएको प्रतिक्रिया दिए । ‘यो मैदान समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँ संरक्षणमा योगदान पुर्याएको छ’, उनले भने । जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजकले पुनर्निर्माणपछि अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानका रूपमा परिवर्तन भएको बताए ।