काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छन् । प्राधिकरणको २५औं वार्षिकोत्सवका अवसरमा शनिवार उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनुअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन् ।
‘ललितपुर महानगरपालिकामा स्थानीयले पुरातात्त्विक क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरूले काट्ने भनी चेतावनी दिनुभएको रहेछ । चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता गर्नुभएको छ,’ उनले भनिन् । प्राधिकरणलाई आवश्यक कानून र नियमावली बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले प्राधिकरणले सेवा विस्तार र गुणस्तर वृद्धि गर्न सुझाव दिए । उनले भने, ‘कानून संशोधनको थालनी भइसकेको छ । प्राधिकरणले सेवा विस्तार र गुणस्तर बढाई राम्रो नतिजा दिने गरी काम गर्नुपर्छ ।’
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं उपत्यका लगायत प्रमुख शहरमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापनका लागि भूमिगत रूपमा अप्टिकल फाइबर राख्ने काम थालनी भएको जानकारी दिए । सडक विस्तार र खम्बा सार्ने तथा तार व्यवस्थापन गर्ने क्रममा दूरसञ्चार पूर्वाधारमा असर परेको भन्दै उनले मन्त्रालयको ध्यानाकर्षण समेत गराए । रासस