अन्नपूर्ण केबलकारद्वारा पञ्चमुखी गणेश प्रतिमा अनावरणको घोषणा

काठमाडौं। अन्नपूर्ण केबलकारले पर्यटकीय आकर्षणका लागि ४८ फिट अग्लो पञ्चमुखी गणेश मूर्ति अनावरणको घोषणा गरेको छ । पर्यटन विकासको प्रतिबद्धताका साथ पार्टनर्स मिट २०२३ को आयोजना गर्दै बुधवार यस्तो घोषणा गरिएको हो । पार्टनर्स मिटबाट कम्पनीले नयाँ पाटर्नरको पनि खोजी गरिरहेको छ । केबलकारमा पार्टनर बन्न चाहनेले आवेदन दिन सक्ने कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २०७८ फागुनदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमाले केबलकारमा यात्रा गरेर रमाउन आउने पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिएको छ । सेदिबगरदेखि सराङकोट जोड्ने २ दशमलव २ किमीको केबलकारमा १७ ओटा गोन्डोला छन्, जसले प्रतिघण्टा ५०० मानिसलाई सुविधा दिने क्षमता राख्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित र आरामदायी केबलकार सेवा प्रदान गर्न अन्नपूर्ण केबलकार समर्पित रहेको कम्पनीले बताएको छ । बिहानी सेवा सञ्चालनसँगै पर्यटकले बिहानको सूर्योदय तथा सूर्यास्तको अवलोकन गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले नेपालीका लागि ७००, सार्क राष्ट्रका पर्यटकका लागि ८०० रुपैयाँ र अन्य मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ ।