फागुन १६, मस्को (रुस) । रुसले आफ्नो मुद्राको भाउमा आएको कमी रोक्न ब्याजदर दोब्बर भन्दा माथि पुयाएको छ ।
युक्रेनमाथि रुसले गरेको हमलाको प्रतिउत्तरमा अमेरिका र यूरोपेली देशहरूले रुसमाथि नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी डलरको तुलनामा रुबलको भाउ ३० प्रतिशत भन्दा धेरैले घटेको थियो । रुबलको भाउ थप घट्न नदिने बैंक अफ रसिया (बीओआर)ले ब्याजदर ९ दशमलव ५ प्रतिशतबाट बढाएर एकैपटक २० प्रतिशतमा पुर्याएको हो ।
रुसले विगत कयौं वर्षयता ६ खर्ब ३० अर्ब डलर बराबरको विदेशी विनिमय सञ्चिति थुपारेर राखेको छ । यसले पनि प्रतिबन्ध र निर्यात आम्दानीमा आउने कमीको प्रभाव धेरै हदसम्म कम गर्न मद्दत गर्ने विश्लेषकहरुले बताएका छन् । तर यीमध्ये केही सम्पत्ति रोक्का भयो भने चाँहि रुसको हिसाब बिग्रिनेछ ।
बीओआरको उक्त कदमपछि रुबलको भाउ केही सुध्रिएको थियो ।रुबलको अबमूल्यन बढ्ने जोखिम र मुद्रास्फीति हुने अवस्था कम गर्न ब्याजदर बढाइएको केन्द्रीय बैंकले भनेको छ । भाउ खस्किएपछि रुबलको क्रयशक्ति घटेर आम रसी जनता प्रभावित हुन्छन् । सोमबार प्रतिडलर रुबलको भाउ ११९ दशमलव ५० सम्म आएको थियो । यो शुक्रबार बजार बन्द हुँदाको तुलनामा ३० प्रतिशतभन्दा धेरै कम हो ।
बीओआरले ब्याजदर बढाएपछि मस्कोमा प्रति डलर रुबलको भाउ केही सुध्रिएर ९३ दशमलव ४ रुबलमा आएको थियो । सोमबार रुसले शेयर बजार र डेरिभेटिभ्स बजार भने बन्द गरेको थियो । बैंकले स्थानीय बैंकहरुमा तरलता बढाउन ७ अर्ब ३३ अर्ब रुबल (८७ लाख ८० हजार अमेरिकी डलर) प्रवाह गर्ने घोषणा पनि गरेको छ ।
पछिल्लो समय विकसित घटनाक्रमबीच रुसमा एटीएमहरुमा मानिसको लामो लाइन देखिन थालेको छ । केही समयमै मानिसहरुले निक्षेप झिक्ने क्रममा उल्लेख्य रुपमा वृद्धि भएको रुसको सरकारी बैंक सेबरबैंकले भनेको छ । रुबलको भाउलाई टेवा दिन रुसको अर्थ मन्त्रालय र केन्द्र बैंकले घरेलु निर्यातकर्ताहरुलाई आफूसँग भएको विदेश विनिमय सञ्चिति बेच्न थाल्न आदेश दिएको छ ।
यस अन्तर्गत निर्यातकर्ताहरुले निर्यात करार अन्तर्गत आफूले पाएको सबै विदेशी मुद्राको ८० प्रतिशत बेच्नु पर्नेछ । रुसले विगत कयौं वर्षयता ६ खर्ब ३० अर्ब डलर बराबरको विदेशी विनिमय सञ्चिति थुपारेर राखेको छ । यसले पनि प्रतिबन्ध र निर्यात आम्दानीमा आउने कमीको प्रभाव धेरै हदसम्म कम गर्न मद्दत गर्ने विश्लेषकहरुले बताएका छन् । तर यीमध्ये केही सम्पत्ति रोक्का भयो भने चाँहि रुसको हिसाब बिग्रिनेछ । एजेन्सीहरुको सहयोगमा