साउन २५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा हालसम्ममा मागभन्दा २ दशमलव ६१ गुणा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतवार साँझ सम्ममा ७५ हजार २६८ जनाले १ करोड ५७ लाख १ हजार २६४ कित्ताका लागि आवेदन परेको जानकारी गराएको हो । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीअो निष्कासन गरेको हो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
आवेदकले उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्ता देखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जानकारी गराएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा ७ ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ ।
साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिनेछ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि आईपीओ विक्री खुला गरेकोमा कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।