घरजग्गा कारोबारमा देखिएन तरलता अभावको प्रभाव, मंसिरमा ७ अर्ब राजस्व उठ्यो

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बेला घरजग्गा कारोबार भने ह्वात्तै आकाशिएको छ । बैंकहरुमा तरलता अभाव रहेकै समयमा मंसिर महिनामा घरजग्गा कारोबार एकाएक बढेको हो । मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ६९ हजार ४१२ घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा भएको कारोबार संख्या कात्तिकको तुलनामा १९ हजार ३२९ ले बढी हो । असोजको तुलनामा कार्तिकमा सुस्ताएको घरजग्गा कारोबार मंसिरमा आउँदा बढेको हो । कारोबार बढेसँगै मंसिरमा राजश्व संकलन पनि बढेको छ । मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजस्व उठेको छ । मंसिरमा संकलन भएको कुल राजश्व कार्तिकको तुलनामा १ अर्ब ५७ करोड १३ लाखले बढी हो । असोजको तुलनामा कार्तिकमा १ अर्ब ८३ करोड ५० लाखले घटेर ५ अर्ब ४९ करोड ५१ लाख राजस्व संकलन भएको थियो । मंसिरमा रजिष्ट्रेशन शुल्कवापत ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८४ लाख, सेवा शुल्कबाट २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सम्बन्धित सामग्री