कोरोना सङ्क्रमितलाई हृदयघात भएमा उपचारका लागि कहाँ जाने ?

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ । सङ्क्रमितलाई हृदयाघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ । सुखको कुरा, हालसम्मका दुई हजार ५०० सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कूल दुई सय ५० शय्या रहेको सो विशिष्टीकृत अस्पतालले कोरोना रोकथामका लागि जारी बन्दाबन्दीपछि मूल भवनको द्वार बन्द गराई आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ । सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुपूर्व भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए/नभएको पहिचान अनिवार्य गराउने गरेको छ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइशोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको छ । यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ ।