काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीको जारी पूँजी रू. ३९ करोड २१ लाख ५८ हजार ८०० को ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिसकिएको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ ।
अब सर्वसाधारणका लागि बाँकी रहेको शेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता शेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउँदै छ ।
यो आईपीओ विक्री अवधि वैशाख १२ गतेसम्म तोकिएको छ । उक्त मितिभित्र मागबमोजिम आवेदन नपरेमा वैशाख १४ गतेसम्म विक्री अवधि लम्बिने जानकारी कम्पनीले दिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको यो आईपीओ पनि वैशाख १२ गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ ।
प्रतिकित्ता रू. १०० तोकिएको यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम सुनिश्चित रहेको संकेत गर्दछ ।
कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ ।
पुस मसान्तसम्म कम्पनीले रू. १ करोड २० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरणअनुसार आर्थिक वर्ष ०७८/७९ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ६७ रहेको छ । यही नेटवर्थको आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।