कीर्तिमानी दरमा बढ्यो भारतीय अर्थतन्त्र

भदौ १६, नयाँदिल्ली (भारत) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र अहिलेसम्मकै उच्च दरमा बढेको छ । अर्थतन्त्र कोरोना भाइरसको दोस्रो लहरको चपेटामा आएको भएपनि जुन त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव १ प्रतिशतले बढेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको प्रतिबन्धहरु अलि अलि खुकुलो बनाएसँगै आर्थिक गतिविधिले समीक्षा अवधिमा टेवा पाएका थिए । सन् २०२० को सोही अवधिमा भने संक्रमण नियन्त्रण गर्न देशव्यापी रुपमा बन्दाबन्दी गरिएको थियो । फलतः अर्थतन्त्र २४ प्रतिशतले खुम्चिएको थियो । निजी लगानी र उपभोक्ता खर्चले अर्थतन्त्रमा ‘भी आकारको’ पुनःबहाली सम्भव बनाएको सरकारको प्रमुख आर्थिक सल्लाहकार के भी सुब्रमन्यणले बताएका छन् ।  ह्वात्तै आर्थिक वृद्धिदर घटेर तीव्र सुधार आउनुलाई भी–आकारको पुनःबहाली भनिन्छ । म्यानुफयाक्चरिङ र निर्माण क्षेत्रले पनि आर्थिक वृद्धिदर डोर्‍याएको हो । गत आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । महामारीको चपेटामा आएको विश्वका प्रमुख अर्थतन्त्रमध्ये यो पनि एक थियो । गत त्रैमासको वृद्धिदर भारतीय केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ इन्डिया’ले गरेको प्रक्षेपणभन्दा चाहीं कम हो । सो अवधिमा अर्थतन्त्र २१ दशमलव ४ प्रतिशतले बढ्ने आरबीआईको प्रक्षेपण थियो । केही मुख्य क्षेत्रहरुमा सुधार नआएको भएपनि यस वर्ष भारतीय अर्थतन्त्र सुदृढ दरमा बढ्नेमा विज्ञहरु आशावादी देखिएका छन् । अर्थतन्त्रको मुख्य चालक उपभोक्ता खर्च भने अझै पनि महामारी पूर्वको स्तर भन्दा तल नै छ । संक्रमणको अर्को लहरको जोखिम र सुस्त खोप कार्यक्रमले वृद्धिको गति बिगार्न सक्ने विज्ञहरुले बताएका छन् । एजेन्सी