जेठ ४, काठमाडौं । नेपालको शेयर बजारमा मंगलवार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
यसदिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । यसअघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो ।
उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । यस दिन २१५ ओटा कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको हो ।
यो दिन नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको हो ।
उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ ।
मंगलवारको बजारमा होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटल्स समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ ।
विगत लामो समयदेखि घटेको होटल्स समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढ्नुले कम मूल्य भएका शेयरप्रति लगानीकर्ताहरु आकर्षित भएको प्रष्ट देखिन्छ । मंगलवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ ।
यस दिन ओरियण्टल होटल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशतले र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । होटल्स तथा पर्यटन समूहसँगै यो दिन वित्त समूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युतको ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ ।
यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।