सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।आईपिओको नतिजा केहि समयपछि सार्वजनिक हुने छ । सार्वजनिक भएपछि विभिन्न ४ तरिकाबाट आइपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सयपत्री हाइड्रो कम्पनीको वेबसाइट http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको छ । शेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय् ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।