बागलुङ र अर्घाखाँचीमा जनजाती सम्मेलनको जिल्ला अधिवेशन तयारी

काठमाडौं । अखिल नेपाल जनजाती सम्मेलनले बागलुङ र अर्घाखाँचीमा जिल्ला अधिवेशनको तयारी थालेको छ । सम्मेलनका अनुसार अर्घाखाँची जिल्ला अधिवेशन यही पुस २५ र २६ गते सन्धिखर्कमा आयोजना गरिनेछ भने बागलुङको आगामी माघ २२ र २३ गते बागलुङ बजारमा आयोजना हुनेछ । ‘जनजातीलाई स्थानीय स्वशासनको व्यवस्था गरौं, तेस्रो अघाँखाँची जिल्ला अधिवेशन सफल पारौं’ भन्ने नाराका साथ हुन लागेको अर्घाखाँची जिल्ला अधिवेशनको उद्घाटन सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगरले गर्नुहुनेछ । आन्तरिक संगठनात्मक अभियान सञ्चालन गरिरहेको जनजाती सम्मेलनले अन्य जिल्लाका कार्यक्रमहरु पनि छिट्टै तय गरिने जनाएको छ । त्यसका साथै प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै सम्मेलनले विभिन्न कार्यक्रम गरिरहेको छ । स्थानीय स्वाशासनको माग सहित क्रियाशील जनजाती सम्मेलनले संघीयता खारेजीको मुद्दालाई पनि उत्तिकै महत्वका साथ उठाइरहेको छ ।