काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव २२ प्रतिशत घटेर बन्द भएको छ ।
आइतवारको तुलनामा नेप्से परिसूचक २३ दशमलव ६३ अंक घटेर १ हजार ९०८ दशमलव शून्य ५ विन्दुमा बन्द भएको हो । पछिल्लो कारोबार दिन नेप्से परिसूचक सोमवारसहित निरन्तर तीन कारोबार दिन घटेको छ ।
सोमवार रू. ९२ करोड ७८ हजार बराबरको ३१ लाख ४४ हजार ५७३ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रोपावरले ओगटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको रू. ७ करोड २ लाख ४३ हजार बराबरको शेयर कारोबार भएको हो । घटेको बजारमा सर्वाधिक कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ३१० कायम भएको छ ।
सोमवारको कारोबारमा आदर्श लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १४३ ले मूल्य बढेर आदर्श लघुवित्तको अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५७३ दशमलव ७० कायम भएको हो । त्यस्तै यो दिन कालिञ्चोक दर्शनको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । सोमवारको कारोबारमा सबै समूहगत परिसूचकहरू घटेका छन् ।