महिला वातावरण संरक्षण समिति (वेप्को) नेपालले जैविक फोहोरबाट बायोग्यास बनाउन पहल सुरु गरेको छ । समितिले सबैभन्दा बढी ऊर्जा खपत हुने होटल र रेस्टुरेन्ट क्षेत्रमा अग्र्यानिक फोहोरबाट बायोग्यास बनाउन सकिने भन्दै पहल सुरु गरेको हो ।
यसै सम्बन्धमा सम्बन्धितसँग छलफल र अन्तरक्रियाका लागि वेप्कोले एकदिने कार्यशाला गरेको छ । कार्यशालामा वेप्को नेपालकी अध्यक्ष विष्णु थकालीले होटल र रेस्टुरेन्ट क्षेत्रले यस्तो अभियानलाई अगाडि बढाउनुपर्ने बताइन् । यसले काठमाडौंको ५० प्रतिशतभन्दा बढी फोहोर व्यवस्थापन हुने उनले बताइन् । कार्यक्रममा वेप्कोका कार्यक्रम संयोजक ओमबल मल्लले ठोस फोहोर व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यशालाको उद्घाटन वातावरण मन्त्री ठाकुप्रसाद शर्माले गरेका थिए । उनले जुुनसुकै समयमा यस्ता कार्यक्रमलाई अगाडि बढाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएन नेपालका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले वेप्कोका अभियान उपयुक्त र सकारात्मक भएको बताए । यसका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेका पनि उनले बताए ।
वेप्को नेपालले युएनडीपी एसजीपी र जीएफको सहयोगमा यस्तो कार्यक्रम गरेको हो । अहिले वेप्को नेपालको केन्द्रीय कार्यालयमा ८ क्युबिक मिटरको बायोग्यास प्लान्ट सफलतापूर्वक सञ्चालन भइरहेको छ । त्यस्तै वेप्को नेपालले बुढानिलकण्ठस्थित बुढानिलकण्ठ स्कुलमा ५० क्युबिक मिटरको बायोग्यास प्लान्ट बनाएको छ । सफलापूर्वक चलेको सो प्लान्ट मर्मतका अभावमा अहिले बन्द रहेको मल्लले बताए ।
वर्ष ५, अंक ४२, २०६७, असार ७–१३