असार ११, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड - १९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीका लागि संघले ९ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।
संघले तीन थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र दुई थान प्यासेन्ट मोनिटर प्रदान गरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
संघलाई ती उपकरणहरू हेल्भेटास नेपाल, इलम परियोजनाले उपलब्ध गराएको हो । यसअघि संघले सो अस्पतालमा सघन चिकित्सा इकाई निर्माण गरेको थियो ।