कार्यविधि संशोधनले बढायो कोषमा आबद्धता

सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन भएसँगै कोषमा सूचीकृत हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या पनि बढ्न थालेको छ । कोषले रोजगारदाता र योगदानकर्तालाई आकर्षण गर्नका लागि गत माघ २९ गतेदेखि लागू हुने गरी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याएसँगै कोषमा आबद्धता हुनेको सङ्ख्या बढेको हो । कोषका अनुसार गत माघमा १७४ रोजगारदाता प्रतिष्ठानमार्फत कूल चार हजार ४८५ जना योगदानकर्ता कोषमा सूचीकृत भएका थिए । त्यस्तै फागुनमा ३४३ रोजगारदाता प्रतिष्ठानमार्फत करिब साढे पाँच हजार जना योगदानकर्ता सूचीकृत भएका छन् । कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले पछिल्लो संशोधनपछि कोषमा आबद्धता हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या बढ्न थालेको बताउनुुभयो । उहाँले भन्नुभयो, नयाँ व्यवस्थाअनुुसार आउँदो असारसम्म आबद्धताका लागि समय निर्धारण गरिएकाले दिनदिनै सङ्ख्या बढ्न थालेको छ ।