सेयर बजारले पछिल्ला केही दिनदेखि दिनहुँ नयाँ रेकर्डहरू बनाइरहेको छ । कहिले उच्च अंकले बढेर त कहिले सबैभन्दा बढी संख्यामा सेयर किनबेच भएर र सबैभन्दा बढी मूल्यको कारोबार भएर रेकर्ड बनिरहेका छन् । यस साताको दोस्रो दिन एकै दिन सबैभन्दा बढी सेयर परिसूचक घटेरसमेत रेकर्ड बन्यो भने बुधबार फेरि परिसूचक उकालो लाग्यो । यसरी सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गरिरहँदा धेरैले त्यसलाई अस्वाभाविक भने पनि लगानीकर्ता सुन्न तयार भएनन् । फलतः सेयर बजारमा ठूला लगानीकर्ता आफ्नो लगानी सुरक्षित गर्नेतर्फ केन्द्रित भए भने साना लगानीकर्ताले अझै बढ्छ भन्ने हल्लाको पछि लाग्दा धेरै गुमाए ।