सिरहा सदरमुकामा रहेको जिल्ला अस्पताल सिरहामा बिरामीहरूको चाप बढ्न थालेको छ । स्थानीय बिरामीहरू टाढा गएर लिइनुपर्ने स्वास्थ्य सेवा अब आफ्नै गाउँ ठाउँमा पाउन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
केही वर्ष पहिले जिल्ला अस्पताल सिरहा ‘रेफर’ केन्द्रको रूपमा थियो । सामान्य रोगका बिरामीहरूलाई यहाँ उपचार हुन नसक्ने भन्दै अस्पतालले रेफर गरेर धरान विराटनगर पठाउने गर्ने गर्थे । केही वर्ष यता अस्पतालको व्यवस्थापन र उपचारमा स्थानीयहरूले चासो लिन थालेपछि पहिलेको तुलनामा अहिले अस्पतालमा व्यापक सुधार देखिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष रही सक्नु भएको स्थानीय देव कुमार यादवले बताउनुभयो ।
अहिले अस्पतालभित्र पसेपछि बिरामीहरूको उपचारमा अस्पतालका चिकित्सकहरू व्यस्त देखिन्छ, पहिले कुनै वास्ता नै गरिदैन्थ्यो । बिरामीहरूले स्वयम अस्पतालबाट सन्तोषजनक उपचार पाएको खुसी व्यक्त गर्न थालेको स्थानीयहरू बताँउछन । स्थानीय दिनेश यादवकाअनुसार सुपरिटेन्डेन्ट भएर नागेन्द्र प्रसाद आएपछि अस्पतालको सुधारमा ह्वातै प्रगति देखिएको छ ।
अरू ठाउँमा गएर फिस्टुलाको शल्यक्रिया गराउन ५० हजारभन्दा बढी खर्च हुन्थ्यो । तर आफ्नै नगरपालिकामा रहेको सिरहा अस्पतालमा डा. नागेन्द्र यादवले शल्यक्रिया गरिदिएपछि निको भएको सिरहा नगरपालिका हक्पराका महेश यादवले खुसी व्यक्त गर्दै शल्यक्रिया गराउन साढे सात हजार मात्रै खर्च लागेको बताउनुभयो । उहाँले भन्नुभयो,आफ्नै गाउँ ठाउँको अस्पताल सुध्रिएपछि निकै लाभ भयो । हाम्रा स्थानीय सरकारले अस्पताललाई सबल बनाउन ध्यान जाओस् । म जस्ता धेरैले यस अस्पतालबाट स्वास्थ्य लाभ लिएका छन् ।’