काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सुनिश्चित आय (परिवार आयलाभ) जीवन बीमा योजना सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारिराज हुमागाईंलगायतको उपस्थितिमा उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।
बीमा योजनाको मुख्य विशेषतामा एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रूपमा व्यवस्थापन गर्नु रहेको छ । मुनाफामा सरिक नहुने जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमा शुल्क भुक्तानी गरेर अतिरिक्त लाभ जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता, अशक्त सुविधा र बीमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था छ ।
१८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । न्यूनतम वार्षिक बीमा शुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमा शुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा बढी र जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ । कम्पनीले हाल ४२ शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीलाई बीमा सेवा दिँदै आएको छ ।