निषेधाज्ञामा पनि जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो

जेठ ११, जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महीनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ ।  दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलंगा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । यहाँका किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त छन् । गत कात्तिक र मंसिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताए ।  जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् । रासस