पालिकाको नयाँ काम, गाई संरक्षण गर्न गौशाला सञ्चालन

उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् । देशका अन्य भूभागमा जस्तै रामपुरमा पनि छ यो प्रचलन । यी छाडा गाइको संरक्षणमा जुटेको छ अहिले रामपुर नगरपालिका । यो काम धेरैले रुचाएका छन् र अरुका लागि पनि अनुकरणीय बनेको छ । नगरपालिकाले गाईको संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । कालीगण्डकी तटमा अवस्थित तातोपानी धाम लक्ष्मीनारायण मन्दिर अगाडि करिब सात रोपनी क्षेत्रफलमा पक्की पर्खालले घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ । गौशाला सञ्चालनमा आएसँगै यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कालीगण्डकी नदी स्नान गरी यहाँ रहेको लक्ष्मीनायण मन्दिर तथा गौशालाको दर्शन गर्ने प्रतिदिन बढ्दैछन् । विभिन्न धार्मिक, सांस्कारिक कार्यमा यहाँको गौशाला प्रयोगमा आएको छ भने गौशलाकै अवलोकनका लागि पनि धेरै मानिस आउन थालेका छन् । भौगोलिक हिसाबले पनि उत्तम रहेको यस क्षेत्रमा गौशाला प्रयोगमा आएपछि तीर्थालु पनि बढ्दै गएको पाइएको छ । कालीगण्डकीको रमणीय दृश्यसँगै रमाउँदै गौशाला अवलोकन गर्ने युवापुस्ताको पनि उपस्थिति देखिन्छ । पाका मानिस गाईको हिन्दू संस्कारसँग जोडिएर आउने गरेका छन् भने युवापुस्ता गौशालाको अवलोकनमा आउँछन् ।