शिखर इन्स्योरेन्सको हकप्रद करीब ३५ % मात्र बिक्यो

चैत २१, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर करीब ३५ प्रतिशत मात्र विकेको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म १:०.३ को अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  अन्तिम दिन चैत २१ गतेसम्म २६ हजार ६१२ जना सदस्यहरुबाट १८ लाख ३६ हजार ८३४ कित्ता हकप्रद खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।  यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले सार्वजनिक निष्कासनमा विक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले पनि बीमा समितिको निर्देशन बमोजिम आगामी एक वर्षभित्र रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नु पर्नेछ ।