खानेतेलको कच्चा पदार्थको मूल्य ४०% बढ्यो, उपभोक्तालाई राहत दिन कर हटाउन माग

काठमाडौं । व्यवसायीहरूले खानेतेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य करीब ४० प्रतिशतले बढेको बताएका छन् । उद्योग संगठन मोरङले सोमवार विज्ञप्ति जारी गर्दै अन्तरराष्ट्रिय बजारमा उकालो लागिरहेको इन्धनको मूल्य र रुस–युक्रेन युद्धका कारण खानेतेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्य बढेको बताएको हो । उद्योग संगठन मोरङले जनवरी २०२२ मा मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरिको दानाको मूल्य १ हजार ५२५ डलर प्रतिटन रहेकोमा पछिल्लो समय २ हजार १२५ डलर पुगेको उल्लेख गरेको छ । उक्त वृद्धि ३९ दशमलव ३५ प्रतिशत हो । खनेतेल उत्पादनका लागि आयात गरिने उक्त कच्चा पदार्थ व्यवसायीले ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशबाट आयात गर्दै आएका छन् । ‘विगत केही समययता अन्तरराष्ट्रिय बजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको बढदो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्य सामाग्री, निर्माण सामाग्री लगायतका वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको छ’ उद्योग संगठन मोरङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थ यसअघि जनवरी २०२२ मा १ हजार ५२५ डलर प्रति मेट्रिक टनमा आयात भईरहेकोमा हाल २ हजार  १२५ डलरसम्म खर्च गर्नुपरिरहेको छ ।’ त्यस्तै ईन्धनमा भईरहेको मूल्य वृद्धिले तेस्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै वढ्दो बैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भईरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अधिकांश उद्योगहरु विदेशी कच्चा पदार्थमा नै निर्भर रहेकाले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतारचढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली उद्योगको उत्पादनमा पर्ने गरेको उद्योगीको भनाइ छ । अन्तरराष्ट्रिय बजारमा भइरहेको महँगीका कारण नेपालमा पनि महँगी भइरहेको र त्यसलाई रोकेर उपभोक्तालाई राहत दिनका लागि कर हटाउनुपर्ने माग उद्योगीले गरेका छन् । ‘अन्तर्राष्ट्रिय अभ्यासहरुमा वस्तुको मूल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गरी उपभोक्तालाई राहत दिने प्रचलन रहिआएको छ’ विज्ञप्तिमा थप भनिएको छ, ‘विश्वको हालको बदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिति सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।’