प्रेम दिवसमा सौराहामा फुड फेस्टिभल, तयारी धमाधम

चितवन । नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित  सौराहामा १७ औं सौराहा फुड फेस्टिभलको तयारी शुरू भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान), सौराहाले प्रणय दिवसको अवसरमा हरेक वर्ष फेस्टिभल आयोजना गर्दै आएको छ । यस वर्षको फेस्टिभल माघ २९ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।  फेस्टिभल सञ्चालनका लागि मंगलवार जिल्ला प्रशासन कार्यालय, भरतपुरबाट अनुमतिसमेत लिइएको आयोजकले जनाएको छ । साथै फेस्टिभलको सुरक्षा व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष आग्रह गरिएको फेस्टिभल संयोजक ध्रुव गिरीले जानकारी दिए ।  रेवानका अध्यक्ष नरेश गिरीको नेतृत्वमा फेष्टिभल संयोजक गिरी, रेवानका पूर्वअध्यक्षहरू सुवासचन्द्र गौतम, राजन भट्ट, गोकर्ण गिरी, उपाध्यक्ष कपिल पोखरेल, महासचिव सूर्यबहादुर रिमाल, सदस्य कुमार जोशीलगायतका व्यवसायी जिल्ला प्रशासन कार्यालय, चितवन पुगेका थिए । फेष्टिभलको तयारीका लागि सौराहा सजिसजाउ बनाउन थालिएको छ ।  पर्यटन विकाससँगै प्रणय दिवस मनाउने वातावरण बनाउन फेस्टिभल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले बताए । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । यस वर्षको प्रणय दिवस भने फागुन २ गते परेको छ ।  ‘सडकमै खाने र सडकमै रमाऊँ’ भन्ने मूल नाराका साथ आयोजना हुंँदै आएको फेस्टिभलमा हात्तीचोकदेखि गैंडाचोक हुँदै बगरसम्म र मल्लुचोकबाट गैंडाचोकसम्मको क्षेत्रमा पर्यटकलाई सडकमै रमाउन सक्ने गरी तयारी गरिएको गिरीको भनाई छ ।  फेस्टिभलले सौराहाको पर्यटन विकाससँगै यहाँका मौलिक संस्कृति र परम्परागत खानाको समेत प्रवद्र्धन गर्ने रेवानका महासचिव सूर्यबहादुर रिमालले बताए । पछिल्लो समय देशमा आर्थिक गतिविधि सुस्त भईरहेका बेला फुड फेस्टिवलले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने व्यवसायीको अपेक्षा छ ।