तीन महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा

काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा रू. ५० अर्ब ७४ करोड नाफा कमाउन सफल भएका छन् । कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि बैंकहरूले गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा खुद नाफा १२ दशमलव १४ प्रतिशत वृद्धि गरेका छन् । यसअवधिमा बैंकहरूले करीब साढे ५ अर्ब रुपैयाँ थप कमाएका छन् । बैंकले यसअघि उठ्न बाँकी ब्याज (प्रोभिजनिङ) बाट र शेयर लगानीबाट आम्दानी गर्दा समग्रमा खुद नाफा बढ्न योगदान पुगेको बैंकरहरू बताउँछन् । यो वृद्धि गत आवको तेस्रो त्रैमासको तुलनामा राम्रो भएको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको थियो अर्थात रू. १ अर्ब ५ करोड मात्रा थप नाफा कमाएका थिए । त्यसअवधिमा खुद नाफा करीब रू. ४५ अर्ब थियो । यसको तुलनामा चालू आवमा सन्तोषजनक नाफा भएको बैंकरहरू बताउँछन् । बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज र विभिन्न सेवा शुल्क हुन् । गत आवको तुलनामा यसपटक ब्याज आम्दानीभन्दा सेवा शुल्कको आम्दानी बढी देखिएको छ । बैंकहरूले चैतसम्ममा ९५ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोहीअवधिमा यस्तो आम्दानी  ९८ अर्ब ८ करोड रुपैयाँ थियो । चालू आवको ९ महीनासम्ममा खुद शुल्क आम्दानी रू. १९ अर्ब ६३ करोड भएको बैंकको वित्तिय विवरणले देखीन्छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी रू. १७ अर्ब ७५ करोड थियो । यसपटक ६ अर्ब ६८ अर्ब कर्जा प्रवाह बढे पनि बैंकहरूको ब्याज आम्दानी घट्नुको कारण कर्जा–निक्षेप ब्याजदर अन्तर कम हुने हो । बैंकहरूको बीचमा तीव्र प्रतिस्पर्धा हुँदा कर्जा–निक्षेप ब्याजदर अन्तर घटेकाले समग्रमा बैंकहरूको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘कर्जा प्रवाह बढेअनुसार ब्याज आम्दानी धेरै बढ्नुपथ्र्यो तर यसपटक बढेन ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालका अनुसार अहिलेको नाफा बढ्नुको कारण प्रोभिजनिङमा रहेको रकम केही मात्रामा फिर्ता आउनु हो । ‘अब प्रोभिजनमा धेरै छैन, क्रमशः घट्दै छ । शेयरमा लगानी गरेकाले यसको आम्दानी बढ्दा समग्रमा नाफा बढेको देखिन्छ,’ उनले अभियानसँग भने । यसअवधिमा सानिमा बैंकले १८ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १४ दशमलव ६७ प्रतिशत अर्थात् २३ करोड ७४ लाख रुपैयाँ बढी हो । गत आवको चैतमा कोभिडको प्रभाव वित्तीय विवरणमा परेको बताउँदै उनले अब वैशाख १६ गतेदेखि भएको बन्दले पनि बैंकको आम्दानीमा प्रभाव पर्ने उनको भनाइ छ । ‘कोभिड लम्बिए धेरै असर गर्छ,’ उनले भने । तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा पनि यो बैंक अग्र स्थानमा थियो । जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाउँदै नााफा आर्जनमा दोस्रो बनेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ । कर्जा प्रवाहमा अगाडि रहेको एनआईसी एशिया बैंकले भने रू ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा रहेको छ । आधा दर्जन बैंकको नाफा घट्यो प्रकाशित वित्तीय विवरणअनुसार आधा दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । वित्तीय विवरणअनुसार सेञ्चुरी बैंकको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा ६० दशमलव ८९ प्रतिशतले घटेर ३५ करोड ८१ लखमा सीमित भएको छ । गत आवको सो अवधिमा यस्तो नाफा रू ९१ करोड ५७ लाख रहेको थियो । मर्जरको कदम चाल्न लागेको हिमालयन बैंकको खुद नाफा ४४ दशमलव ४५ प्रतिशतले खुम्चिएको छ । तेस्रो त्रैमासमा रू. १ अर्ब २८ करोड नाफा गरेको छ । गत वर्ष २ अर्ब २१ करोडको नाफा गरेको थियो । नेपाल एसबीआई बैंकको खुद नाफा वृद्धि ३८ दशमलव ९१ प्रतिशतले घटेको छ । एभरेष्ट बैंकको ३५ दशमलव ९३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३४ दशमलव ३४ प्रतिशत र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको ५ दशमलव ५५ प्रतिशतले खुद नाफा घटेको वित्तीय प्रतिवेदनले देखाएको छ । वितरणयोग्य नाफामा सुधार खुद नाफा वृद्धि घटे पनि बैंकहरूको वितरण योग्य नाफामा भने संकुचन देखिएको छैन । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण्ण अनुसार २७ ओटै बैंकको वितरणयोग्य नाफा गत आवको भन्दा सुधारीएको छ । समग्रमा वाणिज्य बैंकको वितरणयोग्य नाफा ३५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आव यस्तो नाफा १२ अर्ब रुपैयाँ मात्र थियो । अझ आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । गतवर्ष ब्याज आम्दानी हुन नसकेपछि नाफा प्रभावित भएको थियो । उठ्न बाँकी आम्दानीलाई पनि एनएफआरएस प्रणालीमार्फत देखाउनुपर्ने भएकाले नाफा बढेको मात्र देखिएको थियो । तर, यसलाई लेखापद्धतिअनुसार वितरणयोग्य नाफामा देखाउन नमिलेर त्यस्तो देखिएको बैंकरहरूले बताएका थिए ।