पूर्वका उद्योगीको दशैं स्वदेशमै : आन्तरिक पर्यटकीय क्षेत्रमा घुमघाम र परिवारसँग जमघट

कोभिड–१९ महामारी हुनु पहिलेका वर्षमा दशैं छुट्टी मनाउन सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू यतिबेला विदेशतिर उडिसकेका हुन्थे । दशैंअघि नै आफूले घुम्ने देशको तालिका तयार गरेर दशैंको छुट्टी शुरू हुनासाथ यात्रामा निस्कन्थे । तर, कोभिडका कारण यो पटकको दशैंमा भने उद्योगीले विदेश यात्रा नगर्ने भएका छन् । स्वदेशमै परिवारसँग बसेर मीठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि मुलुकभित्रकै पर्यटकीय स्थल पुगेर रमाउने योजना बनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घरपरिवारसँग बसेर रमाइलो गरेरै दशैं मनाउने योजनामा छन् । उनले अघिल्ला वर्षमा बाबुआमासँग आशीर्वाद लिएर मनाउने गरे पनि बाबुआमा स्वर्ग भएपछि छोराबुहारी र परिवारका अन्य सदस्यसँग दशैं मनाउने अनि मुलुकभित्रकै पर्यटकीय क्षेत्रमा घुमघाम गर्ने योजना बनाएका छन् । घरमा घटस्थापना गरेर बडादशैंमा दुर्गा माताको उपासना गर्न परम्परालाई निरन्तरता दिन पनि वैदेशिक भ्रमणमा कहिल्यै नजाने गरेको उनले सुनाए । स्वदेशमै बसेर चाडवाड मनाउने गरेको उनको धारणा छ । उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरे यो पटक परिवारसहित सुनसरीको चक्रघट्टीमा रहेको आफ्नो घर गएर पुराना साथीभाइ भेटघाट गरी दशैं मनाउने योजनामा छन् । अघिल्ला वर्षमा उनी अमेरिकालगायत मुलुक घुमेर दशैं बिदाको सदुपयोग गर्थे । यसपटक भने आन्तरिक पर्यटनको विकासका लागि घुमघाम गर्ने योजना बुनेका छन् । फुर्सदमा भान्सामा पसेर मीठो परिकार पकाउने शौखका उनी यो पटक घरपरिवारलाई नयाँ–नयाँ परिकार बनाएर खुवाउने योजनामा छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा यसअघि दशैंको लामो छुट्टीमा विदेशतिर घुमघाममा रमाउँथे । तर, यसपालि कोरोना कहरका कारण उनले नेपालमै विराटनगर र काठमाडौंमा परिवारसँग बसेर दशैं मनाउने योजना बनाएका छन् । नवरात्रिको शुरुआतमा घरमा घटस्थापना गरेर परिवारसहित दैनिक माता दुर्गाको उपासना गर्ने र दशमीको दिन दुर्गा विसर्जन गरी परिवारका साथ रमाइलो गर्ने योजना उनको छ । यस पटक परिवारका साथ ताप्लेजुङमा रहेको पाथीभरा माताको मन्दिरमा दर्शन गर्न जाने योजना रहेको मुन्दडा बताउँछन् । त्यस्तै, उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले यसपटकको आफ्नो दशैं छुट्टीलाई पोखरा, घान्द्रुकलगायत पर्यटकीय क्षेत्रमा गएर पैदल यात्रा गर्ने योजना बनाएका छन् । उनले बाहिरबाट आफ्नो माइलो भाइ शिरज प्याकुरेलसमेत दशैैं मनाउन आउने भएकाले परिवारका अन्य सदस्यसहित नेपालभित्रकै पर्यटकीय क्षेत्र घुम्ने र अवलोकन गर्ने योजना बनाएका छन् । आफ्ना नानीबाबुसमेतलाई पर्यटकीय क्षेत्र, ग्रामीण परिवेशबारे जानकारी गराउने उद्देश्य उनले राखेका छन । उनी भन्छन्, ‘कोभिडको कहर सकिएको छैन । पर्यटकीय क्षेत्र थला परेको अवस्थामा कम्तीमा आन्तरिक रूपमा गरिने घुमघामले पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत हुन्छ । त्यसैले सबैले यो दशैंमा परिवारसहित आन्तरिक पर्यटन गरौं ।’ विराट व्यापार संघ अध्यक्ष सुजन थापा भर्खरै भारत भ्रमण सकेर आएका हुन् । उनी पनि यो पटक आफ्नै घरपरिवारसँग दशैं मनाउने योजनामा छन् । परिवारसँग रमाइलो गर्ने र घरपरिवारसँग यो पटकको दशैं मनाउने योजना रहेको उनले सुनाए । कोरोनाका कारण सबैमा एक किसिमको त्रास व्याप्त रहेको र केही समयदेखि नेपालमा महामारीको प्रभाव घटिरहेकाले सजग हुँदै दशैं मनाउने उनले सबैलाई आग्रह गरे ।

सम्बन्धित सामग्री

पर्यटन पुनरुत्थानको संकेत

दशैको लामो बिदा र विदेशी पर्यटक आगमनलाई सहज बनाइएपछि नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थानको संकेत देखिएको छ । यतिबेला प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक र बाह्य पर्यटकको राम्रो उपस्थिति देखिन थालेको छ । कतिपय क्षेत्रमा त होटेलहरू भरिभराउ नै हुन पुगेको समाचार आइरहेका छन् भने कतिपय होटेलहरूको अकुपेन्सी दर निकै बढेको तथा रिजर्भेशन पनि राम्रै रहेको प्रतिक्रिया आइरहेका छन् । त्यसमा पनि अहिले आउने पर्यटक नेपालले गुणस्तरीय पर्यटनको अपेक्षा गरेका देशबाट आएका छन् । त्यसो हुँदा पर्यटनलाई गुणस्तर बनाउने मौकासमेत मिलेको छ । यद्यपि यसले निरन्तरता पाउनेमा भने आशंका नै छ ।   सरकारले स्वास्थ्य निर्देशिका लचिलो बनाएपछि विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि भएको हो । अध्यागमन विभागले तयार पारेको विवरणअनुसार हवाई र स्थलमार्ग हुँदै अक्टोबर १ देखि १६ तारीखसम्म ११ हजार ९ सय ८८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तेस्रो मुलुकबाट नेपाल आउनेके संख्यामध्ये १९ प्रतिशत पर्यटक रहेका छन् । अघिल्लो महिना यस्तो संख्या १४ प्रतिशत थियो । सेप्टेम्बर महीनाभरको तुलनामा अक्टोबरको आधा नबित्दै विदेशी पर्यटकको आउने दर ५ प्रतिशतले वृद्धि भएको अध्यागमनका तथ्यांकले देखाउँछ । सेप्टेम्बर १ महीनामा भित्रिएका पर्यटकको तथ्यांकभन्दा अक्टोबर १६ तारीखभित्र नेपाल भित्रिएका पर्यटकको संख्या धेरै देखिनुले बाह्य पर्यटक आगमन सकारात्मक रहेको देखिन्छ । सरकारले विदेशी पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था हटाएकाले आगामी दिनमा पर्यटक आगमन निकै बढ्ने देखिएको छ । अहिले खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन शुरू गरिएको छ । अहिलेको समय पदयात्रा र हिमाल आरोहणको हो । अनअराइभल भिसाले नेपाल पदयात्रा र हिमाल आरोहणका लागि खुलेको सन्देश दिएको छ । त्यसको प्रभाव बिस्तारै देखिन थाल्नेछ । तेस्रो मुलुकबाट पर्यटक आउन थालेपछि काठमाडौंलगायत मोफसलका तारे होटेलमा चहलपहल शुरू भएको छ । यसले पर्यटनक व्यवसायीमा उत्साह जगाएको छ । यही क्रममा पर्यटक आगमन भए कोभिडका कारण २ वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुनरुत्थान हुने अपेक्षा छ । १ महीनाअघि प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटक नै देखिँदैनथ्यो । त्यसैले कतिपयले सटरै बन्द गरेर बसेका थिए । तर, तिनले अहिले पसल खोल्न थालेका छन् । फाट्टफुट्ट पर्यटक देखापर्न थालेको र तिनले सोधपुछ गर्न थालेकाले व्यवसाय चल्ने विश्वास व्यवसायीमा फेला परेको छ । हस्तकलाका व्यवसायीहरू आशावादी बनेका छन् । नेपालको प्रमुख पर्यटन बजार भनेको भारतीय र चिनियाँ हुन् । अहिले पनि चीनबाट पर्यटक आगमन ठप्प छ । तर, भारतबाट भने पर्यटक आउन थालेका छन् । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या अहिले बढेको हो । अमेरिका र यूरोपबाट आउने पर्यटकको संख्या बढ्नु नेपाली पर्यटनका लागि राम्रो अवसर पनि हो । यो १६ दिनको अवधिमा भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ । ४ हजारभन्दा भारतीय पर्यटन नेपाल आएका छन् । नेपाल भित्रिने पर्यटकको कुल संख्याको एक तिहाइ भारतीय पर्यटक रहेका छन् । प्रख्यात भारतीय अभिनेता अनुपम खेरको टोली अहिले सिनेमा छायांकनका लागि नेपालमा रहेको छ । उनले नेपालका तस्वीरहरू सामाजिक सञ्जालमा हालिरहेका छन् जसले गर्दा भारतीय पर्यटकमाझ सकारात्मक सन्देश गइरहेको छ । नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायीहरूले यस अवसरको फाइदा लिन भने नसकेको देखिन्छ । उनले सित्तैमा नेपालको प्रचार गरिरहेका छन् तर प्रचारका लागि तिनलाई उपयोग गर्न पर्यटन बोर्ड भने चुकेको छ । पैसा खर्च गरेर गर्नुपर्ने प्रचार सित्तैमा हुँदा पनि त्यसको लाभ लिन नखोज्नुमा भारतीय पर्यटकप्रति नेपालीहरूको हेराइ नकारात्मक हुनु हो । पश्चिमेली पर्यटक जति भारतीय पर्यटकले खर्च नगर्ने र मूल्यमा मोलमोलाइ गर्ने भएकाले यस्तो भएको हुन सक्छ । तर, नेपालको पर्यटनमा उनीहरूको योगदान ठूलो छ भन्ने बिर्सनु हुँदैन । डेढ वर्षभन्दा बढी समयदेखि ठप्प रहेको पर्यटन व्यवसायमा यी सकारात्मक संकेत देखिए पनि नेपालको अपेक्षा, लगानी र भौतिक संरचनाअनुसार भने ज्यादै न्यून हो । पर्यटक आगमन बढाउन नेपालमा कोरोनाको जोखिम कम छ भन्ने सन्देश प्रवाहित गर्नु आवश्यक छ । यसका लागि सरकारले काम गर्नुपर्छ । बेलायतले नेपाललाई रेड जोनबाट हटाए पनि अन्य यूरोपेली देशले हटाएका छैनन् । यसका लागि त्यहाँ कार्यरत कूटनीतिक क्षेत्र सक्रिय हुनुपर्ने देखिन्छ । साथै विश्वभरि नै झन्डै २ वर्षदेखि मानिसहरूले घुमफिर गर्न पाएका छैनन् । नेपालको अद्वितीय विशेषतासँग परिचित पश्चिमेली पर्यटक नेपाल आउन उत्साहित पनि छन् । तर, पर्यटनको बजारीकरण हुन सकेको छैन । कोभिडपछिको पर्यटनलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट कार्यनीति र त्यसको कार्यान्वयन हुन सकेको छैन । योजनबद्ध किसिमले सरकार र निजीक्षेत्रले यसमा काम गर्न ढिला भइसकेको छ । नेपाल खुला भएको सन्देश जानासाथ पर्यटन आगमनमा सकारात्मक वृद्धि हुनु खुशीको कुरा हो तर त्यसमा हाम्रो तदारुकता पुगेको छैन । पोखरालगायत केही पर्यटन क्षेत्रका व्यवसायीहरूले अहिले आन्तरिक पर्यटकका कारण राम्रो व्यवसाय पाएका छन् । दशैंको लामो बिदामा घुमघाम गर्ने प्रवृत्ति केही वर्षयता निकै बढेको छ । त्यसैको परिणति यस याममा आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मार्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने नेपाली पर्यटक उल्लेख्य मात्राा देखिएका छन् । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । अहिले पोखराका होटेलको अकुपेन्सी दर ३५ देखि ५० प्रतिशतसम्म रहेको छ । यो दरले होटेलहरू राम्रैसँग सञ्चालन हुन सक्छन् । आन्तरिक पर्यटनले अहिलेलाई पर्यटनमा निकै ठूलो टेको दिएको छ । तर, यसलाई निरन्तरता दिन व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।