कात्तिक ४, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार प्रकाशित गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा शून्य दशमलव २३ प्रतिशतले कम भएको छ । गत वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी मात्र नाफा गरेको हो ।
यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफामा पनि सोही अनुपातको कमि आई खुद नाफा घट्न पुगेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ४९ लाख ४० हजार छुट्याएको उक्त कम्पनीले यस वर्ष २०८ दशमलव ९७ प्रतिशत बढी रू. १ करोड ५२ लाखभन्दा बढी सो शिर्षकमा रकम छुट्याएको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९६ करोड ४४ लाख ९२ हजार पुर्याएको उक्त कम्पनीले जगेडा कोष रकम २२ दशमलव ६१ प्रतिशत वृद्धि गरी रू. २० करोड ३६ लाखभन्दा बढी कायम गरेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा साढे ६२ प्रतिशत बढी रू. ९ अर्ब ६६ करोड ७२ लाख कर्जा सापटी लिएको उक्त कम्पनीले गत वर्षभन्दा ५४ दशमलव ८२ प्रतिशत बढी अर्थात् रू. ९ अर्ब ३३ करोड ८१ लाख कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा शून्य रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ११ रहेको छ ।
* उक्त कम्पनीले यस वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी मात्र नाफा गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।