आधारभूत अस्पतालका लागि जग्गा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरी पठाउन निर्देशन दिएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘…आधारभूत अस्पताल निर्माणको लागि आवश्‍यक जग्गाको सुनिश्‍चितता र डीपीआर तयार गरी यथाशीघ्र […]

सम्बन्धित सामग्री

नेपाल स्वास्थ्य पर्यटनको गन्तव्य बन्ने सम्भावना धेरै छ [अन्तरवार्ता]

नेपालमा ट्राभल मेडिसिनको सेवा दिने पहिलो अस्पताल हो सिवेक हस्पिटल एन्ड ट्राभल मेडिसिन सेन्टर । र, यसकी निर्देशक तथा सफल महिला उद्यमी हुन् डा. प्रतिभा पाण्डे । प्रस्तुत छ, नेपालमा ट्राभल मेडिसिन तथा स्वास्थ्य क्षेत्रका विषयमा केन्द्रित रहेर आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले डा. पाण्डेसँग गरेको कुराकानीको सार : सिवेक हस्पिटलको कसरी शुरू भयो ? यसबारे बताइदिनुस् न । पश्चिमा राष्ट्रका कूटनीतिज्ञ एवं दातृ निकायका प्रतिनिधिहरूको उपचार सेवा दिनेगरी सन् १९८२ मा क्लिनिकको रूपमा यसको स्थापना भएको हो । त्यतिबेला क्यानडाको वाटर प्रोजेक्ट नेपालमा आएको थियो । तत्कालीन समयमा नेपालमा उपचार सेवा सहज थिएन । सिवेकको स्थापनापछि लोन्ली प्लानेट (ट्रेकिङ गाइड)ले पनि नेपालमा उपचार गर्नु परेमा यहीँ जान सुझाउन थाल्यो । त्यसपछि यो क्लिनिकमा बाहिरका मानिस सेवा लिन आउन थाले । यसरी चलिरहेकै समय सन् १९९६ मा क्यानडा सरकारले ‘यो तिमीहरू आफै सञ्चालन गर’ भन्यो । त्यसपछि उनीहरूसँग जोइन्ट भेन्चर बनाएर सञ्चालन शुरू भएको थियो ।  १९९८ देखि मेरो जिम्मामा आयो । त्यसपछि हस्पिटलको रूपमा दर्ता गरेर सेवा बढाउँदै गएका छौं । अहिले आईसीयू अप्रेसन थिएटरमा २४ घण्टा आकस्मिक सेवा उपलब्ध छ । पोखरामा समेत यसको शाखा सञ्चालनमा छ । यो पूर्ण रूपमा निजी स्वामित्वको अस्पताल हो । अहिले हामीले ट्राभल मेडिसिन सेवा दिँदै आएका छौं । यसको सोच भने सन् १९९० तिर आएको थियो । यो हस्पिटलमा उपचारका लागि आउने बिरामी नेपाली पनि हुन्छन् ? के कस्तो सेवा दिने गर्नुभएको छ ?  पहिले पहिले ९० प्रतिशत विदेशी नै हुने गर्थे । तर कोरोनाको समयमा हामीले सबैलाई उपचार गर्‍यौं । अहिले २० प्रतिशत नेपाली आउँछन् । हामीकहाँ सबैखाले उपचार सेवा छ । बालबालिकादेखि वृद्धसम्मको उपचार हुन्छ । अस्पतालमा २५ शøया छन् भने आकस्मिक सेवामा चौबीसै घण्टा वरिष्ठ डाक्टर हुन्छन् । हाम्रा सबै डाक्टर तथा नर्स ट्राभलर्स हेल्थमा सर्टिफाइड छन् । मैले भने अमेरिकन बोर्ड अफ इन्टरनल मेडिसिनबाट पोस्ट ग्य्राजुएट (एमडी सरह) गरेको छु । म स्वास्थ्यकर्मी मात्र होइन, उद्यमी पनि हुँ । नेपालमा महिला उद्यमीको रूपमा काम गर्दा कस्तो खालको समस्या हुने रहेछ ? महिला भएकै कारण खास फरक हुन्छ जस्तो लाग्दैन । सरकारी होस् या बैंक जस्ता संस्था, मैले समस्या महसूस गरेको छैन । स्वास्थ्य क्षेत्रबाट सबैभन्दा बढी कर तिरेबापत लगातार ४ वर्ष सम्मानित भएका छौं । साधारण उपचार र खोपबाहेक पनि हामीले वार्षिक १२ हजार बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएका छौं । तर काममा समस्या छैन भन्ने चाहिँ होइन । निजी अस्पतालले आर्थिक लाभले प्रेरित भएर भएर उपचार गर्छन् भनिन्छ । साथै, अनावश्यक परीक्षण गराउने गरेको गुनासो पनि आउँछ । वास्तविकता के हो ? अन्यत्र के हुन्छ भन्न सक्दिनँ । तर हामीकहाँ त्यस्तो कहिले पनि हुँदैन । सबै काम ट्र्याकिङ भएको हुन्छ । धेरै ठाउँमा एक्सरे, एमआरआई जस्ता परीक्षण गरेको पनि कमिशन आउँछ भनिन्छ । तर हामीले डाक्टरलाई कुनै किसिमको कमिशन दिँदैनौं । साथै अनावश्यक परीक्षण पनि गराउँदैनौं । अस्पतालका योजना के के छन् ? संस्थाको स्वास्थ्य सेवा क्षमता बढाउँदै जाने मुख्य योजना हो । अत्याधुनिक मेशिन ल्याएर सानो, तर सुविधासम्पन्न हस्पिटलको रूपमा विकास गर्दै छौं । यसलाई बुटिक हस्पिटलकै रूपमा विकास गर्ने सोच छ । पोखराको अस्पतालमा पनि सेवासुविधा र क्षमता बढाउनुपर्ने छ । हाल भएको स्थानमा विस्तार गर्न सकिने अवस्था छैन । पोखरामै हामीले २ रोपनी जग्गा लिएका छौं । त्यहाँ अस्पताल निर्माण गर्दै छौं । काठमाडौंकै अस्पताललाई समेत विस्तार गर्ने योजना छ । सोहीअनुसार केही जग्गा खरीद गरिएको छ । नेपालमा आएका वा भएका विदेशीलाई स्वास्थ्य सेवा दिँदै आउनुभएको छ । नेपालमा स्वास्थ्य पर्यटन बढाउन कत्तिको सम्भव देख्नुहुन्छ ? यसबारे मैले पनि विभिन्न मञ्चहरूमा कुरा राखिसकेकी छु । अहिले हामी नेपालमा आएका विदेशीको उपचार नेपालमै गर्न धेरै हदसम्म सफल भएका छौं । हस्पिटलका सेवासुविधा आधुनिक र स्तरीय छन् । तत्कालीन अवस्थामा पश्चिमा मुलुकको स्तरको स्वास्थ्य सेवा दिने संस्था हामी मात्र थियौं । अहिले धेरै छन् । सबैमा उच्चस्तरीय सेवासुविधा छन् । धेरै स्वास्थ्य समस्याको उपचार नेपालमै हुन्छ । तर पनि उपचारका लागि बैंकक, सिंगापुर जान्छु भन्नेहरू पनि छन् । किनकि हाम्रोमा दुईओटा कुरामा कमी छ । पहिलो, नेपालमा संक्रमण दर अलि बढी छ । अर्को, रगत आपूर्ति पनि सहज छैन । यी दुई कुरामा मानिस विश्वस्त हुन सकेका छैनन् । तर नेपालमा स्वास्थ्य पर्यटन छैन वा यसको सम्भावना भन्ने होइन । नेपालमा आँखा उपचार राम्रो छ । आँखा उपचारका लागि छिमेकी मुलुकबाट धेरै आउने गरेका छन् । यस्तै मध्यपूर्वका मानिस आएर दन्त शल्यक्रिया लगायत उपचार सेवा लिने गरेका छन् । तर हुनेखाने विदेशी नै नेपाल आएर उपचार गराउँछन् भन्न अझै केही समय कुर्नुपर्छ । तपाईंले हिमालयन रेस्क्यू एशोसिएनमा रहेर पनि काम गर्नुभयो । केही समयअघि पर्यटकको उद्धार कार्यमा बदमासी भयो भन्ने कुरा आएको थियो । देशकै छवि बिग्रियो पनि भनिएको छ । यसबारे के भन्नुहुन्छ ? धेरैजसो उद्धार खुम्बु क्षेत्रबाट हुने गरेको छ । किनकि त्यहाँ धेरै बिरामी पर्ने गर्छन् । त्यहाँ हाई अल्टिच्युडको समस्या पनि हुन्छ । यो समस्या पहिलेदेखि नै थियो । उद्धारका लागि जसले हेली बोलायो, उसलाई ३०० देखि ६०० डलरसम्म दिने चलन थियो । त्यो बिस्तारै बढ्दै गयो । पछि झन् अनेकौं विकृति आए । यसमा अस्पतालको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) पनि हुन्छ । जस्तै, एउटै व्यक्तिले शेयर ट्राभल, हेली र हस्पिटलमा लगानी गर्‍यो भने के हुन्छ ? एकै व्यक्ति वा संस्थाले एउटै प्रकृतिका तीनओटा सेवा दिने व्यवसाय गर्न नपाइने हो । नेपालमा एउटै कम्पनीले रेडियो, टेलिभिजन र प्रिन्ट मिडिया चलाउन पाउँछ । तर विदेशमा पाइँदैन । नेपालमा हेली, ट्राभल र हस्पिटल तीनओटैमा शेयर हुनु गैरकानूनी होइन । तर यसबाट उत्पन्न विकृति सतहमै आयो । यसमा सबै मिलेका छन् । पर्यटक पनि सामेल छ । यसको समाधानका लागि यस्तो स्वार्थको द्वन्द्व हुन दिनु भएन । स्वास्थ्य क्षेत्रमा डाक्टर लगायत जनशक्तिको उपलब्धता कस्तो छ ?  काठमाडौंमा खासै अभाव भएजस्तो लाग्दैन । तर पोखरामा विशेषज्ञ डाक्टर धेरै कम भएजस्तो लाग्छ । किनकि त्यहाँका विशेषज्ञ एकदम व्यस्त हुन्छन् । त्यसको अर्थ पर्याप्त छैनन् भन्ने लाग्छ । पोखरामै यस्तो छ भने अन्य स्थानमा कस्तो होला ? अमेरिका, अष्ट्रेलिया, जापान लगायत मुलुकले नेपालबाट नर्स लगिरहेका छन् । बेलायतले पनि लैजाने तयारी गरेको छ । यसले त झन् स्वास्थ्य सेवामा जनशक्तिको अभाव नै हुने देखेको छु । यसमा हाम्रै कमजोरी छ । किनकि हामीले नेपालमा नर्सलाई राम्रो तलब सुविधा दिएका छैनौं । कतिपयले नसकेर नगरेको होलान्, कतिपयले नचाहेर नगरेको होलान् । तर जे होस्, स्वास्थ्य क्षेत्रका जनशक्ति पलायन हुनुमा प्रमुख कारण श्रमको उचित कदर नहुनु नै हो । ठूला हस्पिटलले नै १२/१५ हजारमा १२ घण्टा काममा लगाएका छन् । विदेश जान सजिलो हुन्छ भनेर नर्सहरू अनुभवका लागि मात्र अहिले यहाँका हस्पिटलमा काम गरिरहेका छन् । जस्तै, अष्ट्रेलिया जान चाहने नर्सका लागि १०० शøयाको हस्पिटलमा काम गरेको अनुभव हुनुपर्ने रहेछ । त्यसैले नर्सले थोरै पैसामै काम गरिरहेका छन् । यसरी बाहिर जान दिनु राम्रो हो ? कसरी रोक्ने ? पहिले यस्तो गर्न पाइँदैनथ्यो । मैले डाक्टर भएकाले जान नपाउने भएकाले हाउसवाइफ भनेर पासपोर्ट बनाएकी थिएँ । अहिले त कसैलाई पनि कडाइ गरिएको छैन । तर अब रोक्नेभन्दा पनि उता बसेकालाई कसरी फर्काउने भन्ने सोच्नुपर्छ । यस क्षेत्रका समस्या के हुन् ?  पहिलो त नेपालीको आम्दानी पनि कमजोर छ । नेपालमा मानिसले स्वास्थ्य सेवामा गर्ने खर्च र आम्दानीबीच धेरै विषमता देखिन्छ । सरकारी अस्पतालमा धेरै सेवा नि:शुल्क गर्ने भनिएको छ । तर मानिस किन निजीमा गएका छन् भन्नेतर्फ सरकारले ध्यान दिएको छैन । अन्य अस्पतालले पनि १० प्रतिशतसम्म नि:शुल्क गर्छौं भनेका छन् । त्यो पनि कार्यान्वयनमा ल्याउन सक्नुपर्‍यो । नि:शुल्क भनिएको औषधि समेत बिरामीले नि:शुल्क पाएका छैनन् भने त्यसलाई कडाइका साथ लागू गर्नुपर्‍यो । महिला उद्यमीलाई कामको व्यवस्थापनमा समस्या हुने गरेको कुरा उठ्ने गर्छ । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? हो, प्राय: महिला उद्यमीलाई घरायसी काम र अफिसको कामको व्यवस्थापनमा गाह्रो भएको भन्ने छ । तर हाम्रै कार्यालयमा हेर्ने हो भने महिला नै धेरै हुनुहुन्छ । नर्सकै कुरा गर्ने हो भने ठूलो संख्यामा हुनुहुन्छ । उहाँहरूले परिवारको व्यवस्थापनदेखि धेरै जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । घरमा बच्चा वा सासु ससुरा बिरामी हुँदा छुट्टी लिएरै भए पनि महिलालाई नै खटिनुपर्छ । यस्ता खाले समस्या ठूलो छ । त्यसैले उनीहरूले पाउने सुविधामा पुनरवलोकन गरेर वा आवश्यकता अनुसार पार्ट टाइम मिलाएर काम गराउँछौं । हरेक कार्यक्षेत्रमा यस्तो व्यवस्था हुनुपर्छ । किनकि महिलालाई धेरै नै समस्या छ । उद्यमीको हिसाबले हेर्दा महिलाले अलि बढी नै काम गर्नुपर्छ । त्यसैले उनीहरूलाई समय र कामको व्यवस्थापन सहज बनाइदिनु एकदमै आवश्यक छ । अर्को कुरा, महिला उद्यमी र हालको महिला उद्यमीमा पनि धेरै परिवर्तन भएको छ । अधिकांश महिला उद्यमी प्रविधिसँग जोडिएका छन् । अनलाइन प्लेटफर्मबाट व्यवसाय गर्नेदेखि हिसाबकिताब राख्नेसम्मको ज्ञान बढेको छ । सूचना तथा सञ्चारको सुलभ पहुँचले पनि उनीहरूको काममा टेवा पुगेको छ । तर पनि अपेक्षित विकास भइसकेको छैन । महिला जागरण र सशक्तीकरणमा धेरै काम गर्नै बाँकी छ । अझै पनि छाउपडी, बोक्सी, झाँक्री जस्ता कुप्रथा कायमै छन् । महिला नेतृत्व एकदमै कम छ । राजनीतिक नेतृत्वमा पनि महिला पछाडि नै छन् । महिला आरक्षणका कुरा त छ । तर त्यो पूर्ण रूपमा लागू भएको पाइँदैन । तर पनि आशा गने ठाउँ भने छ । नीति निर्माण र नेतृत्व तहमा बिस्तारै महिला सहभागिता बढ्न थालेको छ । पहिले र अहिले नेपालको स्वास्थ्य क्षेत्रमा के फरक पाउनुभएको छ ? धेरै परिवर्तन भइसकेको छ । नेपालको स्वास्थ्य क्षेत्र धेरै अघि बढिसकेको छ । सीमित सेवासुविधाबाहेक विदेशका स्तरीय स्वास्थ्य संस्थामा पाइने सेवा यहीँ उपलब्ध छ । नेपालमा रोबोटिक सर्जरी आइसकेको छैन । तर त्यो पनि सम्भव छ । कलेजो, मिर्गौलालगायतको सहज उपचार हुने गरेको छ । बोनम्यारो ट्रान्सप्लान्ट हुन थालेको छ । क्यान्सरको उपचार सेवा पनि राम्रो छ । तैपनि भारत लगायत बाहिर उपचारका लागि जाने लहर पनि छ । नेपालमा क्यान्सरको उपचार सेवामा विश्वास बढ्दै गएको छ । यसमा अहिले निजीक्षेत्रले धेरै राम्रो काम गरिरहेको छ । उद्यममा आउन चाहने महिलालाई के भन्नुहुन्छ ? महिलाहरू आर्थिक रूपले पनि सबल र स्वतन्त्र हुनुपर्छ । खर्चका लागि परिवारको भर पर्ने वा कसैको आशा गर्ने होइन, स्वयं आत्मनिर्भर हुनुपर्छ । त्यसका लागि काम गर्नुपर्‍यो । सकेसम्म आफ्नै उद्यम व्यवसाय गर्न सके राम्रो, नभए पनि आफ्नो शीप र क्षमताअनुसार आम्दानी हुने काम गर्नुपर्‍यो । के गर्दा आफ्ना लागि राम्रो हुन्छ, केमा रुचि छ, त्यो काम गर्नुपर्छ । आर्थिक रूपमा आत्मनिर्भर हुन लगनशीलता एकदमै जरुरी छ । यसैगरी कामप्रतिको लगाव, शीप सिक्ने इच्छा, मेहनत र जाँगर नभई नहुने कुरा हुन् ।

महिला उद्यमशीलतामा विविधीकरणको खाँचो छ

नेपालमा महिला उद्यमीले थुप्रै समस्याको सामना गरिरहेका छन् । लगानीको जोहोदेखि शीप विकास र बजारीकरणमा समेत उनीहरूलाई सहज छैन । यस्तै, उद्यम र घरायसी जीवनबीचको तालमेल पनि अर्को चुनौतीको रूपमा रहेको छ । यद्यपि अनेकौं बाधा र चुनौतीकै बीच पछिल्लो समय महिला उद्यमशीलता बढ्दै गएको छ । यसैको एक उदाहरण हो– ‘सासु बुहारी टिकल पिकल’, जसलाई आफ्नै बुहारीसँगको सहकार्यमा अघि बढाइरहेकी छिन् पूर्वबैंकर एवं सिवेक अस्पतालका कार्यकारी निर्देशक अञ्जु शर्मा । नयाँ उद्यमको थालनी गर्ने क्रममा शर्माले जनवरी २०२१ मा नीता श्रेष्ठ थापासँग मिलेर ‘सुन्तली वाटिका कृषि फार्म स्थापना गरिन् । उक्त फार्मले थोरै जग्गा किनेर तनहुँमा कृषि गतिविधि शुरू गर्‍यो, जसको मूल नारा ‘अब गाउँको पालो’ भन्ने थियो । फार्ममा कफीका १ हजार बिरुवा रोपिएका छन् भने सन् २०२१ मा कफीको पहिलो बाली टिपिएको छ । प्रस्तुत छ, महिला उद्यमशीलता, महिला उद्यमीका चुनौती, अवसरलगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले शर्मासँग गरेको कुराकानीको सम्पादित अंश : तपाईंको बैंकिङ क्षेत्रबाट उद्यमशीलतासम्मको यात्राबारे केही बताइदिनुहोस् न । म ख्यालख्यालमा बैंकिङ क्षेत्रमा आबद्ध भएको हुँ । सन् १९८४ मा विदेशी संयुक्त लगानीकोे पहिलो बैंक नबिलमा साथीभाइको लहलहैमा लागेर छिरेको हुँ । तर काम गर्दै जाँदा मलाई यो क्षेत्र निकै मन पर्‍यो । काम गर्ने कि पढ्ने भन्ने अस्थिर मनस्थितिका बीच म बैंकमा छिरेको थिएँ । यस क्षेत्रमा काम गर्न थालेपछि आफ्नो मूल्य थाहा भयो, अरूले पनि मलाई महत्व दिन थालेपछि काम गर्ने ऊर्जा मिल्यो । मलाई ऊर्जा दिने थ्री पी अर्थात् प्यासन (लगाव/ तृष्णा), पेसेन्स (धैर्य) र पोजिटिभिटी (सकारात्मकता) चिन्ने मौका मिल्यो । अनि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कसरी पुग्नुभयो ? मैले नबिल बैंकमा ६ वर्ष जति काम गरें । त्यसैबीच नेपाल ग्रिन्डलेज ( आजको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल) ले ल्याटरल इन्ट्रीमा (सोझै माथिल्लो पदमा) मार्केटिङ रिलेशन म्यानेजर माग्योे । म त्यसपछि ग्रिन्डलेजमा आबद्ध भएँ । त्यहाँ शाखा प्रबन्धक भएँ । ललितपुरमा शाखा स्थापना गरेँ । २–३ वर्ष त्यहाँ बसेपछि कान्तिपथ शाखाको जिम्मा पाएँ । त्यसपछि क्रेडिट कन्ट्र«ोलरको काम गर्न थालेँ । कञ्जुमर बैंकिङ भर्खरै शुरू भएको थियो । कञ्जुमर बैंकिङको क्रेडिट हेड भएर काम गरेँ । हेड अफ कन्जुमर बैंकिङको अवसर खुल्यो । खुला प्रतिस्पर्धाबाट त्यहाँ पुगेँ । मेरो शैक्षिक पृष्ठभूमि गर्व गर्न लायक थिएन । तर मैले कडा मेहनत गरेर सिक्दै अनि पढ्दै गएँ । सन् २००४ देखि सन् २०१२ को जुलाईसम्म मैले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा हेड अफ कन्जुमर बैंकिङ बनेर काम गरेकी थिएँ । मैले त्यहाँ ८ वर्ष काम गरें । म सो संस्थामा पुग्न सक्ने सबैभन्दा माथिल्लो पदमा पुगिसकेको थिएँ । मभन्दा सक्षम अरू लिडरहरू पनि तयार भइसकेका थिए । त्यसैले अर्को क्षेत्रमा किन नजाने भनेर सोचिरहेकै समयमा मैले स्वास्थ्य क्षेत्रमा काम गर्ने मौका पाएँ । बैंकिङ क्षेत्रमा काम गर्न थालेपछि आफ्नो मूल्य थाहा भयो । मलाई ऊर्जा दिने थ्री पी अर्थात् प्यासन, पेसेन्स र पोजिटिभिटी चिन्ने मौका मिल्यो । बैंकिङ क्षेत्रबाट सिकेका मुख्य कुराहरू के के हुन् ? मैले बैंकिङ क्षेत्रमा सिकेको पहिलो– वित्तीय अनुशासन हो । दोस्रो, आत्म–नियमन हो । ग्राहकलाई कर्जा दिँदा आफ्नो पैसा भएको भए दिन्थ्यौं कि दिंदैनथ्यौं भनेर सिकाइएको हुन्छ । संस्थागत नियमन त हुन्छ नै, तर मैले आत्म–नियमन पनि सिकें । नेपालमा कन्जुमर क्रेडिटको अवधारणा नै थिएन । सोच परिवर्तन गर्न पनि समय लाग्यो । सीधै ग्राहकहरूसँग व्यवहार गर्न नपरे पनि कर्जा वा व्यवसाय सहजीकरण कसरी गर्ने भन्नेतिर लागेँ । सानो पसलबाट ठूलो डिपार्टमेन्ट स्टोरहरू बने । ऋण लिएर मोटरसाइकल लिनेहरूले घर पनि बनाउन थाले । निर्माण गतिविधिहरू फस्टाए । रोजगारी सृजनामा टेवा मिल्यो । नेपालमा महिला उद्यमशीलतामा देखिएका समस्याबारे तपाईंको अनुभव के छ ? महिलाले बैंकबाट फाइदा लिन सकेका उदाहरणहरू छन् । तर महिलाहरू व्यावसायिक पक्षमा सक्षम भए पनि कागजपत्र वा व्यावसायिक प्रस्ताव बनाउने विषयमा उनीहरू अलि कमजोर रहेको मैले पाएँ । मैले उनीहरूलाई यस विषयमा पनि मार्ग निर्देशन गरेँ । विस्तारै उनीहरूको क्षमता बढेर बैंकहरूसँग ब्याजदरमा ‘बार्गेनिङ’ गर्ने तहसम्म पुगेको मेरो अनुभव छ । बैंकमा एउटा राम्रो पदमा रहेर काम गर्दागर्दै अनुभव नै नभएको स्वास्थ्य क्षेत्रमा कसरी आइपुग्नु भयो ? बैंकिङ होस् वा स्वास्थ्य क्षेत्र, निजीक्षेत्रमा सबैको भिजन एउटै हुन्छ– निश्चित तहमा पुगेको संस्थालाई विस्तार गरेर अगाडि बढाउने । व्यवस्थापन तहमा काम गरिसकेको व्यक्तिमा क्षेत्र फरक भए पनि शीप भने एउटै हुन्छ । कर्मचारी व्यवस्थापन, मानव संसाधनको विस्तारलगायत सबै आधारभूत काम एउटै हुन्छ । बैंकमा ग्राहकको पीडा थाहा हुन्थ्यो भने अस्पतालमा बिरामीको पीडा बोध भइरहेको छ । परिभाषा मात्रै फरक हो । डाक्टर र नर्सहरूलाई बिरामीको हेरचाह गर्न के चाहिन्छ, त्यो बुझेर प्रशासनले काम गर्ने हो । बिरामीको उपचार गर्ने क्रममा धेरै खालको उपकरण चाहिन्छ । प्रशासनमा कार्यकारी भूमिका रहेर त्यसलाई नियन्त्रण गर्ने होइन । बिरामीमुखी (पेसेन्ट सेन्ट्रिक) भएर काम गर्नुपर्छ । बिरामीलाई कसरी उत्तम खालको उपचार दिन सकिन्छ भनेर काम गर्ने हो । डाक्टरहरूको शीप, नर्सहरूको योग्यता र उपकरण पनि चाहिन्छ । उपकरण पनि भनेको वा चाहिएको बेलामा उपलब्ध गराउनुपर्ने हुन्छ । बैंकले महिला उद्यमीहरूको प्रतिस्पर्धी क्षमता विकास गराउनुपर्छ । उनीहरूलाई कर्जा सहजीकरणको खाँचो छ । सिवेक अस्पतालबारे थोरै जानकारी दिनुहोस् न । म सिवेक प्रवेश गरेको १० वर्ष पूरा हुँदै छ । नेपालमा रहेका क्यानडेलीहरूको उपचारका लागि पश्चिमी मापदण्डको क्लिनिक चाहिएपछि एउटा क्लिनिकको रूपमा यो खोलिएको हो । शुरूमा यसमा क्यानडेलीहरूको मात्रै उपचार हुन्थ्यो । तर सन् १९९६ मा क्यानडा सरकारले निरन्तर टेवा दिन नसकिने भन्दै तत्कालीन सञ्चालकहरूलाई नै क्लिनिक सञ्चालनको जिम्मा दिएको थियो । त्यति बेला स्वास्थ्य क्षेत्रको पहिलो ज्वाइन्ट भेन्चर अस्पतालको रूपमा १९९६ को जुनमा सिवेक क्लिनिक दर्ता भएको हो । अस्पतालको विस्तार, सघन उपचार कक्ष (आईसीयू) खोल्ने, पोखरामा शाखा खोल्ने, अपरेशन थिएटर खोल्ने र अन्य सेवाहरू ल्याउने भनेर मलाई ल्याइएको हो । यो काम अहिलेसम्म पनि चलिरहेको छ । अस्पतालमा लगानीको रूपरेखा कस्तो छ ? नेपाली र अमेरिकी डाक्टरले खोलेको प्राइभेट लिमिटेड कम्पनी हो । ग्राहकमा आधारित छ । ट्राभल मेडिसिन सेन्टर र अनुसन्धानमा ठूलो योगदान छ । शुरुआतमा प्रवासीहरूलाई लक्षित गरेर खोलिएको भए पनि अहिले यसले सबै नेपालीलाई सेवा दिइरहेको छ । झन्डै सयको हाराहारीमा रोजगारी दिइरहेको छ । यो २५ शय्या भएको सानो अस्पताल हो । बहुआयामिक अस्पताल होइन । फेमिली मेडिसिनका लागि ‘फस्र्ट लाइन’ अस्पताल हो । विदेशीका लागि मात्रै होइन, नेपालीका लागि पनि शुल्क अन्य अस्पतालको जस्तै छ । ‘सासु बुहारी टिकल पिकल’ किन र कसरी शुरू गर्नुभयो ? २०२० मा कोरोना महामारी शुरू भएपछि अस्पतालमा बिरामीहरूको चाप कम भयो । मैले अस्पतालमा गर्ने कामहरू घरबाटै पनि गर्न थालें । घरमा बसेर काम गर्न थालेपछि एक दिन घरमा खानका लागि भनेर बनाएको अचारको फोटो खिचेर जिस्क्याउँदै फेसबुकमा हालें । सो पोस्टमा धेरै साथीभाइले कतिमा बेच्ने ? बेच्ने हो ? भनेर प्रश्न सोधे । १२ ओटा बट्टा अचार बनाएकोमा ७ ओटा बाँडेर सकें, ५ बट्टा बेचें । यसरी बनाएर अचार नै बेच्न पनि सकिने रहेछ भन्ने लागेपछि सासु बुहारी मिलेर अचार व्यवसाय दर्ता गर्‍यौं । हामी घरमा, आफ्नै भान्सामा अचार बनाउँछौं । बुहारी निकै सिपालु छिन् । फुर्सद भएको समयमा उनले अचारसम्बन्धी धेरै काम गर्छिन् । मेरो फुर्सद अनुसार म थोरै काम गर्छु । बुटिक स्टाइलले, ग्राहकको माग अनुसारको थोरै थोरै सामान बनाउँछौं । एक पटकमा २०/ २५ बट्टा मात्र बनाउँछौं । एकदमै पिरो, खासै पिरो नभएको, मासु धेरै भएको, पूर्णतः शाकाहारी आदि गरेर ४०–४५ प्रकारको अचार बनाउँछौं । यी अचार हामीले घरबाटै फेसबूकमार्फत बेचिरहेका छौं ।  सासु बुहारी पनि मिलेर बस्न, मिलेर केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन ‘सासु बुहारी पिकल टिकल’ ब्रान्डमा अचार बनाएका हौं ।  विक्रीको आकार कस्तो छ ? व्यवसायबाट कतिलाई रोजगारी दिइरहनु भएको छ ? दैनिक सरदर १० हजार रुपैयाँको अचार बेचिरहेका छौं । हामी सासु र बुहारी बाहेक अचार डेलिभरी गर्न छोरा र श्रीमान् पनि खटिनुहुन्छ । घरमा सहयोगी दुई बहिनीहरूले पनि साथ दिन्छन् । पारिवारिक व्यवसाय हो । बैंक र अस्पतालमा काम गर्ने व्यक्ति भए पनि अचार डेलिभरी गर्न बाटो पर्दा म आफै पनि जान्छु । व्यवसायलाई ई–प्लेटफर्ममा लैजानेबारे सोच्नु भएको छैन ? वडामा दर्ता गरेर चलाएको व्यवसाय हो । गुणस्तरका लागि बबरमहलबाट अनुमति लिनुपर्छ । यसका लागि तीन/ चारपटक धाइसकेँ । तर गुणस्तर प्रमाणीकरणका लागि घरेलुमा दर्ता हुनुपर्ने र यसका लागि १० लाखको प्रोजेक्ट देखाउनुपर्ने रहेछ । म बैंकमा काम गरेको मान्छे । ५० लाख रुपैयाँकै प्रोजेक्ट बनाउन सक्छु । तर यो व्यवसाय मैले एक–दुई हजारबाट शुरू गरेको हो । मैले घरबाटै गर्ने हो । तर वडामा दर्ता भएकोलाई गुणस्तर मान्यता दिइँदैन । घरेलुमा दर्ता भए गुणस्तर मापन गर्न सम्बन्धित अधिकारी आउने र परीक्षणपछि गुणस्तरको प्रमाणपत्र दिने अफ्ठयारो प्रक्रियाका कारण व्यवसाय विस्तारबारे सोचेको छैन । यो प्रमाणपत्र नै नभएपछि मैले ई–प्लेटफर्म वा अन्य डेलिभरी मञ्चको प्रयोग गर्न असुरक्षित महसुस गरेको हुँ । थोरै परिमाणमा बनाउने भएपछि उत्पादन लागत पनि अलि धेरै छ । त्यसैले पनि अनलाइनमा नगएको हो । अचार व्यवसायमा प्रतिस्पर्धा कत्तिको छ ? व्यवसाय कस्तो छ ? नेपालमा अचार व्यवसाय सफलताको धेरै कथा सुन्न र देख्न पाइन्छ । ‘आमाको अचार’, ‘नवरस यसैका’ उदाहरण हुन् । नेपालमा स्वदेशी खपत मात्रै होइन, निर्यात गर्नेहरू पनि थुप्रै छन् । हामीलाई पनि निर्यातका लागि अफर आएको थियो । यहाँबाट उनीहरूले भनेको जति अचार बनाएर पठाएर उनीहरूको ब्रान्ड नाममा बेच्न भनेर केहीले प्रस्ताव गर्नुभएको पनि थियो । तर किलोका किलो अचार बनाएर पठाउने क्षमता अहिले हाम्रो व्यवसायको छैन । सासु बुहारी भनेर आफ्नो ब्रान्डका लागि अचार बनाएका हौं । सासु बुहारी पनि मिलेर बस्न, मिलेर केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन गरिएको हो ।  करोड कमाउने सपना देख्नुअघि १ रुपैयाँ वा १ हजार कमाउनुपर्‍यो । त्यहींबाट बढ्दै जाने हो ।  काम र घरेलु जीवनबीचको सन्तुलन तथा समय व्यवस्थापनबारे महिला उद्यमीलाई के भन्न भन्नुहुन्छ ? कतिपय कुरा चुनौतीपूर्ण र गाह्रो पनि छ । कहिलेकाहीँ हामी आफ्नो जीवनलाई अलि जटिल बनाइरहेका हुन्छौं । तर लगाव, धैर्य र सकारात्मकता अर्थात् थ्री पीले मेरो जीवनमा निकै काम गरेको छ । अरूका लागि पनि यस्तै खालको केही कुरा हुन सक्छ । उद्यम गर्न चाहने महिला वा महिला उद्यमीलाई के कस्तो सुझाव दिनुहुन्छ ? मैले बैंकिङ क्षेत्रमा अरूलाई गरेको सहयोगका आधारमा भन्ने हो भने शुरूमा हामी करोडौंको सपना देख्छौं । देख्नु पनि पर्छ । तर करोड कमाउने सपना देख्नुअघि एक रुपैयाँ वा एक हजार (प्रतीक मात्र हो) कमाउनुपर्‍यो । त्यहीँबाट बढ्दै जाने हो । दोस्रो, आधारभूत हिसाबकिताब गर्न, रिपोर्ट बनाउन पनि सिक्नुपर्‍यो । नेपाल राष्ट्र« बैंकले नै सहुलियत दर अर्थात् ३ दशमलव ५ प्रतिशत ब्याजमा १५ लाखसम्मको कर्जा दिइरहेको छ । यसबारे धेरै महिलालाई थाहै छैन । उनीहरूले आफ्नो व्यवसायमा मुनाफा पनि कमाइरहेका छन् । तर बैंकलाई बुझाउने रिपोर्ट राम्ररी बनाउन आउँदैन । झर्को लाग्दो, झन्झटिलो भनेर छोडिदिन्छन् । तेस्रो चाहिँ बजार । गाउँघरमै पनि महिलामा उद्यमशीलताबारे सचेतना राम्रो छ । तालीम छ । तर एउटाले गरेको काम त्यहीँ अरू १० जनाले गरिरहेका हुन्छन् । व्यवसाय विविधीकरणको अभाव छ । यसमा विशिष्टीकरण गर्न आवश्यक छ । पर्याप्त तालीमका कारण उद्यमशीलता त बढेको छ । तर बजारको पहुँचमा भने समस्या र चुनौती छन् । सरोकारवाला निकायहरू राष्ट्र बैंक, वाणिज्य बैंक, लघुवित्त, सहकारीलगायत सबैले वित्तीय साक्षरतामा लगानी बढाउनुपर्‍यो ।  जिल्ला चेम्बर, लघुवित्त, सहकारीलगायत  विविध निकायले महिलालाई उद्यमशीलतामा सघाउन ले के गर्न सक्लान् ? १० वर्षअघि र अहिले महिलाको उद्यमशीलता र शीपमा धेरै परिवर्तन आइसकेको छ । तर यसमै सन्तुष्ट भएर बस्नु भने हुँदैन । यसका लागि शिक्षा (शीप तिखार्ने) र बजार चाहियो । प्रतिस्पर्धा चर्किंदै जान्छ । प्रतिस्पर्धी क्षमता विकास गराउनुपर्‍यो, कर्जा सहजीकरण गर्नुपर्‍यो । कागजपत्रमा बैंकले अड्को थाप्नु भएन, यसमा उनीहरूलाई सघाउनुपर्‍यो । कृषि क्षेत्रमा जुनिएर टेक्निकल असिस्टेन्ट (जेटीए) भने जस्तै बैंकमा पनि त्यही मोडालिटी अपनाउनुपर्‍यो । राष्ट्र  बैंकले महिला उद्यमीले विनाधितो १५ लाखसम्म कर्जा पाउने व्यवस्था गरेको छ । तर बैंकहरूले दिन मानिरहेका छैनन् भन्ने उद्यमीहरूका गुनासा छन् । यो समस्या कसरी समाधान गर्न सकिएला ?  राष्ट्र बैंकले व्यवस्था गरेपछि त दिनैपर्‍यो । बैंकहरूले दिई पनि रहेका छन् । तर अहिले तरलता अभावको समस्या छ । बैंकहरूमा मुद्दती निक्षेपमै १०–११ प्रतिशत ब्याजदर छ । महिलालाई ४ प्रतिशत ब्याजदरमा कर्जा दिन कठिन नै हुन्छ । यो समस्या समाधान गर्न राष्ट्र बैंकले बाँकीको ३–४ प्रतिशत बेहोरिदिनुपर्‍यो । घाटा हुने ४ प्रतिशतको ब्याजदर सीएसआर गतिविधि अन्तर्गत पनि बैंकहरूले मिनाहा गरिदिनेबारे विचार गरिदिन सक्छन् । यो त उदाहरण मात्रै हो । समग्रमा सरोकारवाला निकायहरू राष्ट्र बैंक, वाणिज्य बैंक, लघुवित्त, सहकारी लगायत सबैले वित्तीय साक्षरतामा लगानी बढाउनुपर्‍यो । (विस्तृत अन्तरवार्ताका लागि youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)