छुर्पीको अमेरिका निर्यात ठप्प | Nagarik News - Nepal Republic Media

झन्डै दुई महिनायताको लकडाउनका कारण जिल्लामा उत्पादित करोडौं रुपैयाँको छुर्पी (डग च्यु) निर्यात ठप्प भएको छ । कुकुरको आहारका लागि अमेरिका निर्यात हुने ठूलो परिमाणको छुर्पी बिक्री हुन नसक्दा किसान र व्यवसायी संकटमा परेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाका डेरी उद्योगमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै थियो । अन्य छुर्पीको आन्तरिक खपत सन्तोषजनक रहेपनि बाहिरी देश निर्यात गरिने छुर्पी उत्पादक र व्यवसायीको मारमा परेको व्यवसाय नै ठप्प भएको छ । बर्सेनि उत्पादन भइनसक्दै विक्री भइसक्ने छुर्पी गत फागुनयता विक्री हुन छाडेको व्यवसायी बताउँछन् । निर्यात रोकिएकोमात्र होइन, अमेरिकाबाट अहिले छुर्पीको माग पनि आएको छैन् । गएका वर्षहरूमा यहाँको उत्पादनभन्दा तेब्बरसम्म माग आउने गरेको थियो ।