सरकारले उखु तथा चिनी विकास समितिको अध्यक्षमा सर्लाही निवासी राजनारायण राय यादव र सदस्यमा किसान प्रतिनिधिमा महोत्तरीका मदनसिंह रानालाई नियुक्त गरेपछि समिति विवादमा परेको छ । समितिमा प्रतिनिधिव गराइने अन्य सदस्य भने निश्चित भइ नसकेको कृषि सचिव नाथुप्रसाद चौधरीले बताए ।
सरकारले गत माघमा नौ सदस्यीय उखु बोर्ड गठन आदेश जारी गरेको थियो । तर ऐन संशोधन गरी उखु बोर्ड गर्न ढिला हुने भएपछि गठन आदेशमार्फत समितिका पदाधिकारी चयन गरिएको कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । सरकारद्वारा समितिमा मनोनीत व्यक्तिप्रति उखु उत्पादक केन्द्रीय सहकारी संघ र उखु उत्पादक महासंघले भने आपत्ति प्रकट गरेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले एक डेढ महिनाअघि उखु उत्पादक महासंघ, उखु उत्पादक केन्द्रीय सहकारी संघ र नेपाल चिनी उत्पादक संघका पदाधिकारीहरूले संयुक्त रूपमा कृषिमन्त्रीलाई भेटेर बोर्ड गठनमा राजनीति नगर्न सल्लाह दिएको बताए ।
उनले सल्लाह नलिई गरिएको मनोनयनप्रति आफूहरूको असहमति रहेको पनि उल्लेख गरे । उखु उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष रामचन्द्र कुशवाहा, नेपाली चिनी उद्योग संघका उपाध्यक्ष एवं सांसद दिनकर गोल्छा र लुम्बिनी चिनी मिलका निर्देेशक मनीष अग्रवालले पन समिति गठनप्रति अनभिज्ञता प्रकट गरे ।
कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा. हरि दाहालले मन्त्रालयले समितिका अध्यक्ष तथा सदस्यहरूको नाम पठाउन महासंघ, सहकारी संघ र चिनी उत्पादक संघलाई पत्राचार गरेको जानकारी दिए ।
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २