कुश्मा नगरका १५ सय घर, आकाशे पानीकाे भर !

पर्वत – मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि पर्वतको कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै एक हजार ६ सय घरपरिवार चार दिनदेखि आकाशे पानीको भरमा रहेका छन् ।  गएको मङ्गलवार राति वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका ८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो ।  साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता ...

सम्बन्धित सामग्री

पर्वतमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू

पर्वत । पर्वतमा पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ का कृषक डिल्लीप्रसाद लामिछानेले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेतीको शुरू गरेका हुन् । लामिछानेले ड्रागन फ्रुटका १२ सय बिरुवा रोपेका छन् । पर्वतमा धेरैका लागि ड्रागन फ्रुट नौलो फल मानिन्छ । केही समयपछि बिरुवा थप गर्ने लामिछानेले बताए । ‘हामीसँग १३ रोपनी जग्गा छ, २०० पिलर थपेर ८०० बिरुवा लगाउने योजना छ,’ उनले भने, ‘अरू बाँकी जमीनमा घाँस र केराखेती गर्नेछौं ।’ लामिछाने कटुवाचौपारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत हुन् । ड्रागन फ्रुटको खेतीसँगै उनले पशुपालन समेत गर्दै आएका छन् । बिहान उठेर दूध लिएर सदरमुकाम कुश्मा धाउने र फर्केर बचेको समय ड्रागन फ्रुटको स्याहारमा लाग्ने उनको दिनचर्या बनेको छ । आर्थिक स्थिति सुधार गर्न जागीरले मात्र सम्भव नहुने भएरै ड्रागन फ्रुटको खेती गर्न लागेको उनले बताए । फल उत्पादन भएपछि पर्वतमा विक्री गर्न चुनौती भए पनि अन्य शहरबजारमा सहजै विक्री गर्न सकिने विश्वास उनको छ । पर्याप्त घाम लाग्ने र समुद्री सतहबाट १५ सय मिटर उचाइका ठाउँमा यस फलको खेती गर्न सकिन्छ । पानी नजम्ने ठाउँ यसका लागि उपयुक्त हुने कृषिविज्ञ बताउँछन् । रोपेको २ वर्षपछि ड्रागन फल उत्पादन हुन्छ । यसको फल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । पछिल्लो समय यस फललाई गमला, छत र करेसाबारीमा समेत खेती गर्न थालिएको छ ।

द क्लिफः जसले सिङ्गै गाउँलाई स्वरोजगार बनायो

करिब साढे २ वर्ष अगाडीसम्म पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा क्षेत्र आमनेसामने भएर पनि भौतिक रुपमा जोडिएका थिएनन् । अक्करको भीर र कहालिलाग्दो खोँच बनाएर आफ्नै गतीमा निरन्तर बगिरहने कालिगण्डकी नदीले यी २ जिल्लालाई छुट्याएको छ । त्यसैले पनि कुश्मा र बलेवा आँखाले हेर्दा वारीपारी भएपनि भौतिक रुपमा जोडिन सकेका थिएनन् ।तर, अहिले कुश्मा र बलेवाले अँगालो मात्रै मारेका छैनन्, नेपालका विभिन्न क्षेत्रबाट पुग्ने आन्तरिक र बेलाबखत आउने बाह्य पर्यकटलाई मिलेर आतिथ्य सत्कार पनि दिईरहेका छन् । कारण हो, त्यहाँ २ वर्ष अघिबाट ‘द क्लिफ’ सञ्चालनमा आएको छ । २०१९ अक्टुबर ३१ बाट सञ्चालनमा आएको द क्लिफले ५२० मिटर लामो पुल बनाएर २ जिल्लालाई भौतिक रुपमा जोड्ने मात्रै नभई, त्यहाँ विश्वकै दोस्रो अग्लो (२२८ मिटर उचाईको) ‘बन्जी जम्प’ र स्वीङ खेल खेलाउँछ । यसले कुश्मा वा बागलुङ क्षेत्रमा मात्रै नभई नेपालकै ‘एडभेन्चर टुरिजम’मा नयाँ आयाम थपेको छ । यसरी जन्मियो ‘द क्लिफ’सिन्धुपाल्चोकको भोटेकोशीमा ९ वर्ष लामो बन्जी खेलाएको अनुभव भएका राजु कार्की २ वर्ष फ्रान्समा बसेर फर्किए । सन् २०१० देखि २०१२ सम्म फ्रान्समा बसेर नेपाल फर्किएपछि उनले नेपालमै एडभेन्चर टुरिजमको क्षेत्रमा केही नयाँपन सहितको काम गर्ने योजना बनाए । आफूसँग अनुभव पनि भएकाले उनले बन्जी जम्प नै चलाउने मनस्थिती बनाएका थिए । यसका लागि सिन्धुपाल्चोक र पोखरा आसपासमा उनले ठाउँ खोज्न थाले । तर, २ वर्ष लगाएर ठाउँ खोज्दा भेटिएको कुश्मा र बलेवा बीचको कालिगण्डकीको खोँच उनलाई उपर्युक्त लाग्यो । सन २०१३ मै कम्पनी दर्ता गरेर उपर्युक्त ठाउँको खोजीमा निस्किएका राजुले २०१५ मा मात्रै उक्त ठाउँ भेटेका थिए ।मनले खाएको ठाउँ भएर उनले त्यहीँ अक्करको खोँचलाई एडभेन्चर टुरिजमको ‘हब’ बनाउने निधो गरे । सुरुमा ‘इन्टू त वाइल्ड’ नाम राखिएको भएपनि दूबैतिर भीर रहेको, बीचमा कालिगण्डकी बगेको र कालिगण्डकीमाथि बनेको पुलको बीच भागबाट बन्जी र स्वीङ गरिने भएकाले पछि नाम परिवर्तन गरेर ‘द क्लिफ’ राखियो । क्लिफको नेपाली अर्थ पहरा हो । द क्लिफमा अहिले स्वीङ र बन्जीसँगै, स्काई चेयर, स्काई साइकलिङ लगायतका एडभेन्चर गतिविधि सञ्चालनमा छन् । लगानी कति ?राजुले आफ्नो योजना साथीहरु फ्लोरेन्स कार्की, नेत्र प्रसाद पराजुली (बागलुङ), युवराज जोशी (पर्वत), नवराज शर्मा (बागलुङ) र राजनकुमार जोशी (पर्वत) सहित इश्व कार्की (हाल सीईओ) लाई आफ्ना कुरा ‘सेयर’ गरिसकेका थिए । ठाउँ पक्का भएपछि लगानी जुटाउने चुनौती राजुसँग थियो । तर, उनका साथीहरु लगानी गर्न तयार भए ।दोलखाका इश्व कार्की पनि स्वीटजरल्याण्ड र जापान गरी १ वर्ष ६ महिना जति विदेश बसेरै फर्किएका थिए । ‘राजु सर र म भोटेकोशीमा पहिला बन्जी खेलाउँथ्यौँ, तर यहाँको मुख्य योजनाकार चाहिँ राजु सर नै हुनुहुन्छ’ सीईओ इश्वले बिजपाटीसँग भने, ‘हालसम्म ३० करोड लगानी भईसकेको छ । ८ करोड प्रोजेक्ट बेस लोन (परियोजना कर्जा) लिएका छौँ । हामीलाई प्रभू बैंकले लोन प्रोभाइड गरेको छ ।’६० प्रतिशत कर्मचारी स्थानीय, सिङ्गै गाउँ स्वरोजगारपर्वतको कुश्मापट्टि द क्लिफको ४ आना जग्गा छ । त्यहाँबाट प्रवेश गरेर ५२० मिटर अर्थात् आधा किलोमिटर लामो पुल तरेपछि बागलुङको बलेवा अर्थात् बागलुङ नगरपालिका (नारायणस्थान १४) मा प्रवेश गरिन्छ । बागलुङपट्टि ५० रोपनी जमिन छ । त्यहाँ द क्लिफ रिसोर्टसहित सबै उमेर समूहका व्यक्तिहरुका लागि मिल्ने खेलहरु खेलाइन्छ । २१ वटा सफारी टेन्टसहित आकर्षक ढंगले हरियाली प्रवद्र्धन गरिएको छ । रिसोर्टबाट कालीगण्डकीको खोँच, बन्जी र स्वीङ गरिरहेका दृश्यसहित पवर्तको कुश्मा बजार आँखै अगाडी देखिन्छ ।द क्लिफले त्यहाँ बन्जी खेलाउने पूर्वाधारका रुपमा पुल नबनाउँदासम्म कालिगण्डकी किनारमा रहेको बागलुङ पट्टिको बस्ती उजाड सरह थियो । प्राकृतिक रुपमा उजाड नभई सुविधाका दृष्टिले त्यस क्षेत्रका बासिन्दा कठोर जीवनयापन गर्थे । ‘नजिकै २ वटा बस्ती छन्, यहाँभन्दा तल तिरको बस्ती पहिला समस्यामा थियो, गाउँमा कुखुरा पाले पनि बिक्रि हुँदैनथे, केही सामान किन्नु पर्यो भने पनि १ दिन लगाएर घुमेर मात्रै पारी कुश्मा पुग्नुपर्थ्यो’ कुश्माबाट आफ्नी छोरीसहित बलेवातिर फर्कदै गरेकी एक जना महिलाले भनिन्, ‘अहिले त यहाँबाट हामीलाई सित्तैमा ओहोर दोहोर गर्न दिईएको छ, पैसा लाग्दैन । कुखुरा, खसीहरु यहीँ बिक्रि हुन्छन् । दूध पनि यहीँ बेच्छौँ । पारी (कुश्मा) लैजानभन्दा यहाँ हामीलाई दूधमा १० रुपैयाँ बढी पनि दिएका छन् ।’सीईओ कार्की पनि १५ मिनेटको दूरीमा बलेवा विमानस्थल भएर पनि तल्लो भेगका स्थानीयको जीवनस्तर निकै पीडादायी थियो भन्ने स्मरण गर्छन् । तर, अहिले अवस्था फेरिएको छ । द क्लिफले सिङ्गो गाउँलाई नै स्वरोजगार बनाउँदै लगेको छ ।‘हामीले यहाँका दाजुभाई दिदीबहिनीलाई उत्पादनमा लाग्नुपर्छ, जे फल्छ त्यहीँ फलाउनुपर्छ, तपाईहरुले फलाएका बस्तुहरु हामी किनिदिन्छौँ भनेका छौँ’ सीईओ कार्की थप्छन्, ‘कुखुरा, अण्डा र खसीहरु हामी यतैबाट किन्छौँ । माछा पनि पाल्न थालेका छन् अब । दूधमा हामीले कुश्मातिर भन्दा यहीँ लिटरमै १० रुपैयाँ बढी दिएका छौँ । किनकी हामीलाई प्रोडक्सनमा लाग्ने कल्चरको विकास गर्नुछ । पैसा हातमै पाउने भएपछि मानिसहरु लाग्दा पनि रहेछन् । तरकारी चाहिँ व्यवसायिक रुपमा खेती भएको छैन । खानामा प्रयोग गरेर बाँकी रहेको छ भने थोरै थोरै लिएर आउँदा पनि हामी किनिदिन्छौँ । अहिले यो क्षेत्रका स्थानीयको जीवनस्तर विस्तारै विस्तारै माथि उठ्दै छ । हामी खुशी छौँ ।’सिजन अनुसार फल्ने अम्बा, लिची र सुन्तला पनि द क्लिफले नै किनिदिन्छ । सँगै द क्लिफले पुलमा सो क्षेत्रका बासिन्दालाई निःशुल्क रुपमा ओहोर दोहोर गर्न दिन्छ । यसका लागि गाउँका सबैलाई छुट्टै ‘पास’को व्यवस्था गरिदिएको छ ।अर्कोतर्फ, विदेश जाने सोच बनाएकाहरुले पनि द क्लिफ सञ्चालनमा आएर आन्तरिक पर्यटकहरुको आवतजावत बढेपछि नजिकै रेष्टुरेन्ट खोल्न थालेका छन् । नजिकैको जीपलाइन व्यवसाय पनि फष्टाएको छ । कतिपय विदेश गएर फर्केर आएकाहरुले पनि कुनै न कुनै व्यवसाय सुरु गरेका छन् । त्यति मात्रै होइन, द क्लिफले कुल ८४ जनालाई रोजगारी दिएको छ । यसमध्ये ६० प्रतिशत कर्मचारी स्थानीय गाउँकै छन् । कर्मचारीलाई तलब भत्तावापत द क्लिफले मासिक २० लाखको हाराहारीमा खर्च गर्छ । यहाँ १५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बुझ्ने कर्मचारीहरु छन् । नेपालकै पहिलो बन्जी मास्टर्स प्रकाश प्रधानको नेतृत्वमा प्राविधिक टिम छ ।साथमा, द क्लिफ सुरु भएपछि गाउँमा चहलपहल बढेको छ । सडकहरु बन्ने क्रम सुरु भएको छ ।कुन खेलको कति शुल्क ?स्वीङ र बन्जी खेल्नेहरु अनुभवका लागि खेल्ने धेरै हुन्छन् भन्छन् सीईओ इश्व कार्की । उनका अनुसार दैनिक औसतमा ८० जनाले ‘भिजिट’ गर्छन् । बन्जी भने गत जनवरीबाट मात्रै सुरु भएको हो । हाल दैनिक औसतमा २० जनाले बन्जी गर्छन् ।कपल (२ जना) र एक्लै खेल्न मिल्ने गरी २ थरी स्वीङ छ । बन्जी भने सिंगल मात्रै गर्न मिल्छ ।स्वीङको ७ हजार र भिडियो, फोटो र टिसर्टका लागि थप १५ सय गरी ८ हजार ५ सय शुल्क लाग्छ । बन्जीको पनि ८ हजार ५ सय नै लाग्छ ।तर, बन्जी वा स्वीङ गर्दिन भनेर सिँधै पुल तरेर बागलुङ पुग्दा पनि त्यहाँ न्यूनतम् ५ सयदेखि ७ सय सम्मका ‘एक्टिभिटीज्’ गर्न सकिन्छ । सुरक्षाका दृष्टिले पनि द क्लिफले स्वीटजरल्याण्ड र अष्ट्रेलियाबाट बेला बेलामा आफ्नै खर्चमा विज्ञहरु ल्याएर ‘अडिट’ गराउँछ । बन्जी र स्वीङ गर्नेहरुको उक्त अवधि भरीको लागि ७ लाखको बीमा पनि गरिदिएको छ ।‘पैसा कति भन्दा पनि मान्छेहरु अनुभव गर्न बन्जी र स्वीङ गर्छन्’ कुराकानीको बिट मार्दै सीईओ कार्कीले बिजपाटीको टिमसँग भने, ‘विश्वकै दोस्रो अग्लो बन्जी भनेपछि मानिसहरुमा एक पटक भिजिट गरौँ न त भन्ने पनि लाग्दोरहेछ । हेर्न मात्रै पनि मान्छेहरु आउनु हुन्छ । यसले कुश्माको परिचय नै स्थापित भएको छ । पहिला कुश्मा भन्दा त्यहाँको स्पेशल के भन्ने केही थिएन । तर अहिले कुश्मा भन्ने वित्तिक्कै विश्वकै सेकेण्ड हाईएस्ट बन्जी भएको ठाउँ भनेर स्थापित भएको छ ।’

कालीगण्डकी करिडोरको कुश्मा–बुटवल प्रसारण लाइनमा नगरपालिकाले गर्यो अवरोध

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ । पर्वतको फलेवास नगरपालिकाले अहिले बनाउन थालिएको स्थानभन्दा दायाँ वा बायाँ परिवर्तन गर्न माग गर्दै प्रसारण आयोजनाको काम अवरोध गरेको हो । खासगरी नगरपालिकाको वडा नं ६ देवीस्थानको ठूलो क्षेत्रफल प्रसारण लाइनले प्रभावित पार्ने भएपछि क्षेत्र परिवर्तन गर्न माग गरिएको नगरप्रमुख गङ्गाधर तिवारीले बताउनुभयो । फलेवासको ‘नगरको गौरव’ को आयोजनाका रूपमा निर्माण गरिरहेको फलेवास रङ्गशालाको बीचमा पर्नेगरी २२० केभीको लाइनका टावर निर्माण गर्न लागेपछि देवीस्थानवासी र फलेवास नगरपालिकाका जनप्रतिनिधिनै त्यसको विरोधमा उत्रिएका हुन् । आयोजनाका तीनवटा टावर निर्माण गर्दा नगरकै गौरवका रूपमा रहेको रङ्गशाला, निर्माणाधीन फलेवास बसपार्क र दुईवटा सामुदायिक विद्यालयमा समेत असर पर्ने भएकाले वैकल्पिक क्षेत्रबाट लाइन निर्माण गर्न फलेवासवासी नगरपालिकाले आयोजनासमक्ष माग गरेको हो । कालीगण्डकी करिडोर प्रसारण आयोजनाकोे कुश्मा–बुटवलखण्ड विस्तारको लाइन सार्न माग गर्दै केही महिनादेखिनै स्थानीयवासीले दबाब दिँदै आए पनि सुनुवाइ हुन सकेको छैन । नगरकै गौरवका रूपमा निर्माणाधीन फलेवास रङ्गशालाको माथिबाट लाइन विस्तार गर्दा रङ्गशाला नै विस्थापित हुने भन्दै देवीस्थानवासी र समग्र फलेवासका जनप्रतिनिधिसमेतले आयोजनाको विरोधमा उत्रिएका हुन् । आयोजना पक्षले एकतर्फीरूपमा पेलेर अघि बढ्न खोजेको नगरप्रमुख तिवारीले बताए । गत १६ असारमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा समेत कायम भएकै रुटबाट लाइन निर्माण गर्ने सहमति भएको भन्दै थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने स्थानीय भोला भुसालले बताए । पर्वतको खुर्कोटदेखि बुटवलसम्मका २३३ टावरमध्ये हालसम्म २३० टावर निर्माण भइसकेको आयोजनाले जनाएको छ । देवीस्थानवासीले एपी १० ए, एपी १० बी र एपी ११ गरी तीनवटा टावर निर्माणका क्रममा विरोध जनाएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । आयोजना प्रमुख घोषले प्रसारण लाइनको टावर अन्यत्र सार्न नमिल्ने भन्दै नापजाँच भएर स्वीकृत भएकै ठाउँमा निर्माण गर्नुपर्ने बताए । उनले प्रसारण लाइनको काम करिब अन्तिम चरणमा रहेको बताए । आयोजनाको खुर्कोट–बुटवल प्रसारण लाइन २२० केभिए क्षमताको हो । सोही आयोजनाको पहिलो खण्ड दाना–खुर्कोट अघिल्लो वर्षको माघमै सम्पन्न भइसकेको छ । २२० केभिएको ८८ किलोमिटर लामो लाइनमार्फत बुटवल स्टेशनमा जोड्ने यो लाइनमार्फत १५ सय मेगावाटसम्म विद्युत् प्रसारण क्षमता रहेको आयोजनाले जनाएको छ । दानादेखि खुर्कोटसम्मको लाइनमा भने ५०० मेगावाट विद्युत् प्रसारण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उक्त आयोजनाको काम स्वीकृत भएको क्षेत्रअनुसार नै गर्न सहयोग गर्नुपर्ने बताए । फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले देवीस्थान र फलेवासवासीले कुनै पनि हालतमा उक्त स्थानमा टावर निर्माण गर्न नदिने भएकाले वैकल्पिक बाटोबाट लाइन विस्तार गर्न अनुरोध गरेको बताए । “मैले फलेवासवासी जनताको चाहनाविपरीत काम हुन दिन्न”, तिवारीले भने , “नगरकै गौरवको आयोजनालाई असर पर्ने गरी लाइन विस्तार गर्न खोजे थप समस्या आउन सक्छ ।”